हेटौंडा \ हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ । १२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै पहिलो भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने २ स्वर्ण, ४ रजत र एक काश्यसहित क्रियटिभ डोजाङ तृतीय भएको छ ।
प्रतियोगितामा मकवानपुरको ८ वटा डोजाङले सहभागिता जनाएका थिए । पशुपति डोजाङले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने माउण्ट एभरेष्ट डोजाङले १ स्वर्ण र एक रजत जितेको छ । यस्तै टिसिएन डोजाङले एक स्वर्ण र एक रजत, जेनिथ डोजाङले ५ कास्य र ज्ञानोदय डोजाङले २ कास्य जितेको आयोजकले जानकारी दिएको छ ।
विजेता खेलाडीहरुलाई नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, ८ नम्बर वडा अध्यक्ष राम थापा, ९ नम्बर वडा अध्यक्ष शुकराम केसी, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, पूर्व अध्यक्ष सानु लामा लगायतले पुरस्कार वितरण गरेका हुन् । महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।
प्रमोदको गीत सुन्न दर्शकको भीड
हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेलले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेका छन् । उनको गीत सुन्न दर्शकहरुको भीड लागेको थियो । युवा पुस्ताले निकै रुचाएका गायक खरेलले आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रस्तुतीरहेको थियो ।
जारी महोत्सवमा मंगलबार लोक गायक पशुपति शर्मा, लोक गायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक दर्शकको उपस्थिती बढ्दो क्रममा रहेको छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहँदै आएको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ ।
महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए । महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।