हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले स्नातक तहका २ वटा विषयहरु अध्यापन गराउने भएको छ । उपमहानगरपालिकाले प्राविधिक शिक्षा तर्फ स्नातक तहको २ वटा विषयको अध्यापनका लागि तयारी अघि बढाएको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर उपमहानगरपालिकाले २ वटा कलेज सञ्चालन गर्ने तयारी अनुसार शैक्षिक संस्थाहरुको अनुगमन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार हेटौंडामा कानुन तर्फको विए एलएलबि ५ वर्षे कोर्ष र कृषि तर्फको आइएस्सी एजी ४ वर्षे कोर्ष संचालन गर्ने उद्देश्य अनुरुप मंगलबार शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको नेतृत्वमा उक्त विषयहरु अध्यापनका लागि हेटौंडा–२ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय र हेटौंडा–१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय (प्रविधिक शिक्षालय)को अनुगमन गरेको हो । उपमहानगरपालिकाको अगुवाइमा पूर्वञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर हेटौंडामा नै सो विषयहरु अध्यापनका लागि तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादवराज कोइरालाको टोलीले सो विषयहरु अध्यापन हुने शैक्षिक संस्थाहरुको भौतिक संरचना, प्रयोगशाला, आवश्यक जग्गा जमिन लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।
उपमेयर बानियाँका अनुसार गत असोजमा उक्त विषायहरु अध्ययापनका लागि उहाँको नेतृत्वमा विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सो शैक्षिक संस्थाहरु सूचिकृत गरिएको थियो । सोही आधारमा उपकुलपति डा. कोइरालाको टिमले विद्यालयको अनुगमन गरेको हो ।
अनुगमन पश्चात उपकुलपति डा. कोइरालाले सो विषयहरु अध्ययापनका लागि शैक्षिक संस्था उपयुक्त रहेको प्रतिक्रिया दिनुभयो । स्थानीय तहले नै अभिभावकत्व लिएर उक्त विषयहरु अध्यापनको तयारी गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले सो शैक्षिक संस्थाहरको नामाकरण तथा पुस्तकालयलाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो ।
अनुगमन टोलीमा विश्वविद्यालयका डिन प्रा. डा. पवन कुमार झा, हेटौंडा क्याम्पस सञ्चालन समिति अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला लगायतको उपस्थिती थियो ।