हेटौंडा \ हेटौंडामा भएको अन्तर प्रदेश राष्ट्रिय उसु प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । हेटौंडाको टिसिएन चौरमा जारी बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत बिहीबार भएको खेलमा १४ स्वर्ण, २ रजत र ४ काश्य गरी २० पदक सहित सुदूरपश्चिम विजेता बनेको हो ।
४ स्वर्ण, ९ रजत र ६ काश्य गरी १९ पदक सहित बागमती प्रदेश द्वितीय भएको छ । ३ स्वर्ण, ६ रजत र ६ काश्य गरी १५ पदक सहित आयोजक मकवानपुर जिल्ला तृतीय भएको छ । प्रथम भएको सुदूरपश्चिमले ३० हजार, द्वितीय बागमती प्रदेशले २० हजार र तृतीय भएको आयोजक समूहले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी १६० खेलाडी सहभागी थिए । महिला तथा पुरुषको गरी २२ वटा विधामा खेल खेलाइएको थियो । विधागत प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ५ वटा प्रदेश र मकवानपुर गरी ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, उसु महासंघका केन्द्रीय उपमहासचिव राजिव महर्जन, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, उसु संघ मकवानपुर अध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका हुन् ।
मन्त्री महर्जनले खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा मद्दत पु¥याउने धारणा राखे । खेल क्षेत्रको विकासका लागि भएको महोत्सवका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
क्रिकेटको उपाधी मकवानपुर क्रिकेट क्लवलाई
मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत भएको प्रधानमन्त्री कप क्रिकेट टिम छनौट प्रतियोगिताको उपाधी मकवानपुर क्रिकेट क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा ओमनगर क्रिकेट क्लवलाई ३९ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लबले उपाधी जितेको हो । सुरुमा ब्याटिङ गर्न मैदान उत्रेको मकवानपुर क्रिकेट क्लवले निर्धारित ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा सम्मानजनक २२३ रन बनाएको थियो । मकवानपुरका लागि सुमन सुनारले ७५ रन र रिजन ढकालले ५२ रन बनाउन सफल भए । ओमनगरको तर्फबाट रोहित ठाकुर र पियुष शर्माले समान २/२ विकेट लिए । २२४ रनको सम्मानजनक लक्ष्य पाएको ओमनगर ३८ ओभरमा अलआउट हुँदै १८४ रनमै सिमित बन्यो ।
ओमनगरको लागि गौरभ खड्काले ८७ रन र शुभ कंसाकारले ४२ रन बनाउन सफल भए । मकवानपुरको तर्फबाट समिर चौलागाईले ३ विकेट हात पार्न सफल भए । प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच रिजन ढकाल घोषित भए भने बेष्ट ब्याट्स म्यान गौरभ खडका, बेष्ट बलर समिर चौलागाई र प्रतियोगिताको प्लेयर अफ द सिरिलज तक्षक सिम्खडा घोषित भए ।
प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको खेल प्रदर्शनीका आधारमा मकवानपुरबाट १८ जना खेलाडीहरुलाई दोस्रो चरणको छनोट प्रतियोगितामा प्रदेश पठाउने प्रदेश क्रिकेट संघका उपाध्यक्ष पे्रम क्षेत्रीले जानकारी दिए । गत वर्षको प्रतियोगितमा मकवानपुरबाट रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल र शुभ कंसाकार छनोट भएका थिए । छनौट प्रतियोगितामा ५ वटा टिमले सहभागिता जनाएका थिए । मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की लगायतले पुरस्कार वितरण गरेका हुन् ।