हेटौंडा \ सातै प्रदेशका मुख्यमन्त्रीले आज मानवसेवा आश्रम मुख्यालय मकवानपुर हेटौंडाको भ्रमण तथा अवलोकन गरेका छन् । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका सरोजकुमार यादव, बागमती प्रदेशका शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका डिल्ली बहादुर चौधरी, कर्णाली प्रदेशका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह लगायतको टोलीले एकसाथ अवलोकन गरेका हुन् । मुख्यमन्त्रीको अन्तर प्रदेश बैठकमा ससहभागिता जनाउन हेटौंडा आएका मुख्यमन्त्रीहरुले मानव सेवा आश्रमको अवलोकन गरेका हुन् ।
घर परिवार र आफन्तविहीन भई खुला आकाशमुनी कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार र सम्भवभएकाहरुको पारिवारीक पुनर्मिलन गराउँदै आइरहेको मानवसेवा आश्रम मुख्यालयको अवलोकन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीले सहकार्यको लागि आह्वान गरेका छन् । मानवसेवा आश्रमको कार्य प्रशंसानिय रहेको बताउदै सातैवटा प्रदेशबाट आश्रमको सेवालाई प्रभावकारी बनाउन आवश्यक साथ र समर्थन गर्ने उहाँहरुले प्रतिवद्धता व्यक्त समेत गरेका छन् ।
२०६९ सालमा मकवानपुरको हेटौंडाबाट शुभारम्भ भएको मानवसेवा आश्रमले देशको सातै प्रदेशमा आफ्नो सेवाकेन्द्रहरु विस्तार गरी २०८१ सालभित्र सबै प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रेदश घोषणा गरिसक्ने लक्ष्य तय गरेको छ । जसमध्ये कर्णाली प्रदेश र गण्डकी प्रदेश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा भइसकको छ।
२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य सहित नेपाल सरकारसँग सार्थक साझेदारीको तयारीमा रहेको मानवसेवा आश्रममा आज भएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको एकसाथको भ्रमणले बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणमा कोशेढुङ्गा सावित हुने मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले बताए ।