हेटौंडा \ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले विश्वेश्वर प्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको नेताको रुपमा रहनुभएको बताउनुभयो । वी.पी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आईतबार हेटौडामा सम्बोधन गर्नुहुदै डा. भण्डारीले वी.पी सत्य निष्ठाका नेता भएको बताउँदै वी.पीसँग राष्ट्र बनाउने सपना रहेको बताउनुभयो ।
वी.पीको विचारलाई अनुशरण गर्न नजान्दा नेपालको राजनितिले इमोस्नल दिन नसकेको बताउनुभयो । अब पुरानो ढर्राको राजनैतिक नेतृत्वबाट देश अघि नबढ्ने बताउँदै पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुडी गरेको अवस्था देखिएको उहाँले बताउँनुभयो । उहाँले देशको गति अघि बढाउन युवाहरुलाई आशा जगाउने कामहरु गर्नु पर्नेमा जोड दिनुहुँदै युवाहरुलाई देश फर्कने वातावरण बनाउन सके मात्र वीपीको राष्ट्र बनाउने सपना पुरा हुने बताउनुभयो ।
अहिले राजनैतिक दलका नेताहरुले राजनितिको लागी मात्र राजनिति गरेको भन्दै समाजले चाहेको कुराहरुमा राजनीतिक दृष्ट्रिकोण जानुपर्नेमा जोडदिनुभयो । पाईलै पिच्छे नेताहरुलाई गलत गर्ने छुट नभएको भन्दै उहाँले लोकतान्त्रिक व्यवस्थाले भित्रिएको प्रविधिको सदुपयोग गर्न नसकेको अभिव्यक्ती दिनुभयो । युवाले परिवर्तन मागे पनि अहिलेको नेतृत्वले कार्यशैली परिवर्तन गर्न नसकेको बताउँदै उहाँले आधुनिक प्रविधिको शिक्षा जरुरी रहेको बताउनुभयो ।
अहिले युवाले घुम्ति होईन सुरुङमार्ग खोजेको बताउँदै नेताहरुले आफु धनी भएर देशलाई गरिब बनाएको आरोप लगाउनुभयो । भाषणले मात्र देश नचल्ने बताउँदै उहाँले प्राकृतिक स्रोतसाधनलाई अधिकतम प्रयोग गरी मूलुकमा देखा परेको समस्यालाई पार लगाउनुपर्नेमा जोड दिनुभयो । यूवाले परिवर्तन मागेपनि राजनीतिक दलहरुले दिन नसक्नुको कारण नेताहरु अपडेट हुन नसकेको उहाँले बताउनुभयो । हामीले जनतालाई के दियौं, युवाले खोजिरहेका छन् त्यतातिर देश हाक्नेहरुको ध्यान नगएको भन्नुहुँदै भौतिक विकास र मानवीय विकासको निमय बुझ्न नसक्नु कमजोरी रहेको बताउनुभयो ।
हरेक पार्टीभित्र देखा परेको गुटले न पार्टी बलियो भयो न सम्बन्ध बढ्यो भन्दै उहाँले गुटको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । नेताहरुले युवाहरुलाई देश फर्कने प्रतिवद्धता व्यक्त गर्न नसक्दा दिनह्ँ विदेशिने यूवाहरुको लर्को लाग्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । विश्वमै राम्रो र समावेशी संविधान नेपालको रहेको बताउँदै यति राम्रो संविधान बनाउने नेतृत्वहरुले कामचाहीँ किन राम्रो गर्न सकेनन् भनी औल्याउनु भयो । कमिशन र घुसखेरीले देश बिग्रको भन्दै निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा(एस)का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।
वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र ढकालको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कार्यबहाक सभापति धर्मराज लामिछाने, नेकपा(एस) मकवानपुर अध्यक्ष विष्णु दाहाल लगायत नेतागणहरुको आतिथ्यता रहेको थियो ।