हेटौडा / मकवानपुरको राक्सिराङ गाउँपालिकामा गाउँबासीको आयआर्जन वृद्धि गर्न पाक्षिक हाट बजार सुरु भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा सुरु भएको हाट बजारमा स्थानीय चिउरीको महदेखि गिट्ठाभ्याकुरसम्म खरिद बिक्री भएको छ । सिस्नुको झोल र स्थानीय कृषि सहकारीले उत्पादन गरेको गुन्द्रुक पनि हाट बजारको प्रमुख विशेषता बनेको छ । स्थानीय कृषि उपजको प्रवद्र्धन र बजारीकरण गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको हाट बजार वर्षायाम सुरु नहुँदासम्म निरन्तर रहने गाँउपालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भयो । हाटबजार हरेक महिनाको १ गते र १५ गते सञ्चालन हुनेछ ।
हाटबजारका लागि २० वटा स्टलहरु निर्माण गरिएकाछन् । गएको आईतबार देखी सुरु भएको हाट बजारमा स्थानीय उत्पादनहरु सिस्नुको झोल, गुन्द्रुक, तरुल, पिँडालु, गहत, मास, फापर, कोदो, आलु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु बिक्रीका लागि राखिएका थिए । स्थानीय परिकार गिट्ठा, भ्याकुर, होटल, स्थानीय जातका खसी, बोका, लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादित मौरीको महलगायतका स्थानीय उत्पादन हाटबजारमा बिक्री गरिएको थियो ।
पश्चिम मकवानपुरको मनहरी बजार हरेक महिनाका १ गते र १५ गते बन्द हुने गर्दछ । मनहरीबाट ६ किलोमिटर दूरीमा रहेको राक्सिराङका ग्राहक, उपभोक्ता र व्यापारीहरुलाई समेत आकर्षण गर्ने लक्ष्यका साथ हाट बजार राखिएको हो । भौगोलिक र आर्थिक रुपमा पिछडिएको आफ्नो गाउँबासीको आयआर्जन वृद्धि गर्ने र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हाट बजार सुरु गरिएको अध्यक्ष मल्लले बताउनु भयो ।