मकवानपुरगढी \ स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ मकवानपुरगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक समारोहका बीच उद्घाटन गरेकी थिइन् । प्रतियोगिता मकवानपुरगढी -२ को कुर्लेमा रहेको खुल्ला खेल मैदानमा सुरु भएको हो ।
२ दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा मकवानपुरगढी गाउँपालिका भित्रका १० वटा माध्यामिक विद्यालयका करिब चार सय जना छात्र छात्रा सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय झण्डा समेत लिएका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले विद्यार्थीहरुको खेल क्षेत्रमा प्रगतिका लागी यस्तै खेलकुद कार्यक्रमहरु आवश्यक रहेको बताइन् । खेलकुदको विकाससँगै विद्यार्थीहरुबीच रहेको खेल प्रतिभाहरुको उजागर गर्नका लागि यस्तै कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई रहेको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मान कुमारी पाख्रिनले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । खेलकुद विकास समिति मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन तथा समन्वयमा भएको कार्यक्रममा मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष हिरा स्याङ्तानको अध्यक्षतामा प्रतियोगिता भएको हो ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिह पाख्रीन, वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापकहरु, नागरिक समाज, राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।