हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १९ औँ स्थापना दिवस बुधबार अन्तरक्रिया गोष्ठी तथा प्रशंसा पत्र प्रदान कार्यक्रम गरी मनाएको छ । साथै संघले एचआईभी संक्रमित एंव प्रभावित बालबालिकालाई न्यानो कपडा समेत वितरण गरेको थियो । संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भाखा नाघेका ऋण व्यवस्थापन कानुनी उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । सोही अवसरमा बोल्दै प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले कर्जा प्रवाहमा ध्यान पुग्न नसके भाखा नाघेको सदस्यको संख्या वृद्धि हुने बताए । उनले लगानी गर्दा ध्यान दिनुका साथै असुली प्रक्रियामा निरन्तर लाग्नुपर्ने बताए ।
मूलुकको अर्थतन्त्र सवल पक्षमा नभइरहेको अवस्थामा सहकारी क्षेत्रमा पनि त्यसको प्रभाव परेकाले कर्जा तीर्न सदस्यलाई अफ्ठ्यारो परिरहेको अवस्था सिर्जना भएको बताउँदै श्रेष्ठले भने,आर्थिक संकटमा पनि सहकारीले ऋण प्रवाह गरिरहेकोले समाजमा आर्थिक चलायमान भइरहेको छ । उनले सहकारीमा पछिल्लो समय समस्या आएको छ, केही सहकारीहरु भाग्ने, हिनामिना गर्ने, बचत फिर्ता नगर्ने जस्ता परिघटनाले समग्र सहकारी क्षेत्रमा नराम्रो सन्देश सदस्यमा पुगेको बताए । सदस्यहरुलाई अनुरोध गर्दै लिलामीको प्रक्रियामा नपुग्दै आफ्नो साँवा र व्याज नियमित तिर्न आग्रह गरे ।
संघमा आवद्ध भएको साकोस सदस्यहरुलाई १६ वटा समूह चरणमा विभाजन गरी सहकारीले गर्दै आइरहेको भाखा नाघेको अवस्थामा गरिने प्रक्रियाहरुबारे बृहत छलफल गरी प्रस्तुती समेत गरिएको थियो कार्यक्रममा संघका अध्यक्ष कल्पना श्रेष्ठले बचत र ऋणका साथै भाखा नाघेपश्चात गरिने कानुनी उपचारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सहकारी नियमावली २०७५ को परिच्छेद ८ अन्तरगत पर्ने दफा ३०मा उल्लेख भएका कानुनी उपचारबारे बृहत छलफल गरिएको थियो ।
सोही अवसरमा संघको भवन निर्माणका लागि सुरु गरिएको भजन निर्माण बचत कार्यक्रम र प्रति शेयर सदस्य १० रुपैयाँका दरले गर्ने सहयोगी संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । जसमा मितेरी साकोस, महिला मिलन साकोस, श्रमिक सुरक्षित साकोस, जागरण साकोस, महिला जनशक्ति साकोस, महिला सेवा साकोस, संजीवनी साकोस, सहयात्री साकोस, महिला आवाज साकोस, हरियाली स्वावलम्बन साकोस, महिला अभियान साकोस, सुजनशील महिला साकोस, बज्रबाराही साकोस, मनहरी साकोस, जनकल्याण साकोस, बागेश्वरी महिला साकोस, पञ्चरत्न साकोस, महिला जागृति साकोस, जनजागृति महिला साकोस, हेटौंडा साकोस, महिला मुक्ति साकोस, कुलेखानी साकोस, सौभाग्य महिला साकोस, जनचेतना साकोस, नमुना प्रगति साकोस, पाञ्चायन साकोस, युसेस साकोस, हातेमालो साकोस र महिला कल्याण साकोस रहेका छन् ।
कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी अधिकृत नारायण प्रसाद देवकोटा, पूर्व जिसस उपप्रमुख भगवती पुडासैनी, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, सल्लाहकार बद्री प्रसाद लम्साल, नेफ्स्कुन मकवानपुर फिल्ड ईन्चार्ज ज्योति महत, राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कंडेल, बहुउद्देश्यीय सहकारी संघका शर्मिला डंगोल, ग्रामीण महिला सेवा केन्द्रका देवकी चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।
स्थापना दिवसको अवसरमा संघले मकवानपुर महिला समूहको कार्यालयमै ११ जना एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा समेत वितरण गरेको थियो । संघमा मंसिर मसान्त सम्ममा करिब १ अर्ब ७ करोडको कुल सम्पति रहेको र पुजीँ ४ करोड ४८ लाख ८३ हजार रहेको संघका व्यवस्थापक सुमित्राकुमारी वाईवाले बताइन् । संघले १५ करोड ८१ लाख ९६ हजार ५५७ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप ९६ करोड ५२ लाख ५० हजार २०४ रहेको व्यवस्थापक वाईवाले बताइन् । उनका अनुसार संघले ९ वटा उपसमिति गठन गरी संस्थागत सुदृढीकरण गर्नुका साथै सेवा प्रवाह गरिरहेको बताइन् ।