चार दशक अघि देखी सांगितिक क्षेत्रमा ख्याती कमाएका गायक एंव संगीतकार कृष्णगोपाल सिंह मकवानपुरको सांगेतिक क्षेत्रमा परिचित नाम हो । २०३६ सालमा रेडियो नेपाल प्रवेश गरेका सिंहले भाग्यमा कोरिएका मेरा रेखाहरु बोलको आधुनिक गीत रेकर्ड गरेका थिए । रेडियो नेपालमा स्वर परिक्षण पास भएर गीत रेकर्ड गरेपछि सिंहले लगभग डेढ दर्जन राष्ट्रिय गीतहरु रेकर्ड गरिसकेका छन् । रेडियो नेपालमा एउटा गीतको वीस रुपैयाँ लिएर गाउने गरेको सम्झना अहिले ताजै छ उनले बताए ।
बुबा फत्तेनारायण सिंह र आमा इन्द्रकुमारी सिंहको कोखबाट २०१८ मा जन्मिएका गायक सिंह हुने बिरुवाको चिल्लो पात भने जस्तै सानै देखी संगीत क्षेत्रमा गुनगुनाउने बानीले कृष्णगोपाल सिंहलाई अन्तत गायक बनाएर छाड्यो । हुन त उनलाई यो सफलता यति धेरै हात पर्ला जस्तो लागेको थिएन । उनले गितार बजाउँदा उनको बाबुले यस टुनटुना बजाएर खान पुग्दैन भन्दै गितार फुटाईदिएको सम्झना अहिले पनि आँखाभरी रहेको सिंह बताउनुहुन्छ । स्कुलकाल देखी संगीत तर्फ आर्कषण सिंहले संगीत क्षेत्रमा आफनो भविष्य उज्जवल भएको मनन् गरेकै कारण उनी यस क्षेत्रमा स्थापित हुन पुगे ।
उनलाई यस क्षेत्रमा हौसला दिने उनकी आमा थिईन । त्यतिबेला गितार किन्ने पैसापनि आमाबाटै उपलब्ध हुने गरेकाले पनि उनलाई संगीत मोह लागिरहेको हुनुपर्छ । फुर्सद मिल्यो कि कृष्णगोपालको हातमा गितार झुण्डिहाल्थ्यो । पढाई सँगै कृष्णगोपालको बसाई काठमाडौं रहने भएकाले उनका दाजु विष्णुगोपाल जो नारायण गोपालका साथी थिए । भाईको संगीतप्रतिको मोहले विष्णुगोपालले पनि स्वरसम्राट नारायण गोपालसँग भेट गराए । सायद २०३५ तिर होला दाई मार्फत पहिलो पटक नारायण गोपालदाई सँग भेट भयो । उहाँले मलाई गीत गाउन लगाउनु भयो मैले पनि गीत गाए । गितार बजाउन आउछ भनेर सोध्नुभयो आउछ भनी गितार पनि बजाए, त्यसपछि नारायण गोपालले अब रेडियो नेपालमा भ्वाईस टेष्ट गर्न पर्छ भन्नुभयो त्यसपछि मन खुशी भयो कृष्णगोपाल बताउँछन् ।
रेडियो नेपालमा लगेर नारायण गोपाल दाईले गीत रेकर्ड गराउन गर्नु भएको त्यो क्षण अहिले पनि सम्झनामा आउने उनी बताउँछन । रेडियो नेपालमा सुरेन्द्र राणाको शब्दमा राम थापाको संगीतमा मेरो याद अझै आउछ भने बोलको गीत गाएर भ्वाईस टेष्ट पास गरेको कृष्णगोपाल बताउँछन् । आफुलाई यो क्षेत्रमा स्थापित हुन नारायण गोपालनै रहेको उनी बताउँछन । रेडियो नेपालमा भ्वाईटेष्ट पास भएपछि कृष्णगोपालको चर्चा गाँउ शहरमा हुन थाल्यो । जब उनको पहिलो गीत रेडियो मार्फत बज्ने हल्ला पिटियो त्यसपछि मात्र उनका बाबुले छोराको प्रगति आभास गरे ।
हिजोको दिनमा गितार फुटाएर यो क्षेत्रमा नलाग्न आग्रह गर्ने बाबुले गाँउभरीका मानिहरुलाई छोराका गीत रेडियोमा आज आउदैछ सुन्नु भनेर हल्लापिटाएको क्षण पाउँदा बल्ल कृष्णगोपाल आफुलाई केही गरेछु भन्ने भावना पैदा भएको उनी बताउँछन । गीत गाएरै बिहे भएको रमाईलो पक्ष पनि कृष्ण गोपाल सँग छ । हेटौडाको फरेष्ट्रीमा आयोजित सांगितिक कार्यक्रममा दर्शक दीर्घामा आएकी एक युवतीले आफुलाई लभ लेटर पठाएको उनी सम्झन्छन । उनै युवतीसँग बिहे गरेर कृष्णगोपालले आजसम्म पनि साथ पाईरहेका छन् ।
संगीत क्षेत्रमा आफुलाई बुझेर धेरै सहयोग पाएकाले पनि श्रीमतीको सहयोगले यस क्षेत्रमा आउन सहयोग पुगेको उनको भनाई छ । परिवारको सहयोग बिना कोही सफल नहुने भन्दै उनले जति पनि प्रगति गरियो परिवारनै रहेको उनको भनाई छ । कृष्णगोपाल संगीत सँगै विदेश पनि गए । विदेशबाट फर्किदा २०६० तिर हेटौडामा काकाका छोरा लाल श्रेष्ठले संगीत पाठशाला खोलेको थाहा पाएपछि उनले हेटौडामा बसेर केही गर्ने सोच बनाए । भाई लाल श्रेष्ठले आफुलाई सात आठवटा गीत बनाएर राखेको सुनाए ।
आफुलाई भाईले गुड्यो मोटर बोलको गीत गाउन आग्रह गरेपनि आफुलाई मन नपरेको तर्क गरेका थिए । भाईको आग्रहमा गुड्यो मोटर सुसाउदै तन्नेरीको मन भुलाउदै बोलको गीत गाएपछि कृष्णगोपालको यस क्षेत्रमा उचाई बढेको आफै बताउछन । सल्लोनी एल्वम बजारमा आएपछि हेटौडाको संगीत क्षेत्रले कोल्टे फेरेको उनको तर्क छ । पहिला पहिला यस क्षेत्रमा निकै सम्मान थियो आज भोली त्यति सम्मान र मिहेनत नभएको उनको बुझाई छ ।
आफुले चार दशक अघि गरेको संगीत संघर्ष निकै ओजपुर्ण रहेको कृष्णगोपाल बताउँछन् । हुन अहिलेका युवा पुस्ताको संघर्ष पनि कम चै छैन तर अलि पहिला जस्तो यो क्षेत्रको आर्कषण त्यती नभएको हो की भन्ने लाग्छ उनी बताउछन् । आफनो बिडो छोरा सुदीप सिंहले धानेकोमा उनी निकै खुसी रहेको बताउछन ।
छोराले काठमाडौंमा स्टुडियो चलाएको छ । उ एउटा राम्रो एरेन्जर पनि हो, संगीतमा पनि राम्रै दख्खल राख्छ यसैले म यस क्षेत्रबाट निकै सन्तुष्टि छु उनी बताउँछन । उनी अहिले पनि झलझल्ती सम्झन्छन त्यतिबेला राम थापा, दिनेश अधिकारी, सुरेन्द्र राणा, मिरा राणा, कुमार थापा, तीर्थकुमारी थापा, रत्न बेहोसी, दिवाकर खड्का, संतोष पन्त लगाएतका व्यक्तिहरु सँगको संगत पनि उत्तिकै लाभदायक भएको उनी बताउँछन ।
आफुलाई पछिल्लो पटक मिडियामा ल्याउन गुड्यो मोटर सुसाउँदै बोलको गीतले नसोचेको हाईप पाएको उनको तर्क छ । काठमाडौंमा काम गर्दा धेरै गीतहरु गाए पनि गुडयो मोटर बोलको गीतनै आफनो संगीतको ढोका खोल्ने मध्यम बनेको उनको तर्क । यसका लागी उनले उनका भाई संगीतकार लाल श्रेष्ठप्रति नतमष्तक रहेको बताउँछन । नजिकको तीर्थ हेला भने जस्तै भयो लाल श्रेष्ठले ल्याएका गीत संगीतले आफुलाई निकै चर्चामा ल्याएकाले लाल श्रेष्ठनै आफ्नो लागि संगीतको मुलढोका रहेको बताउँछन ।
उनले रेडियो नेपालमा पहिलो पटक मास्टर रत्न बेहोसीको शब्दमा राम थापाको संगीतमा भाग्यमा कोरिएको मेरा रेखाहरु आसुले बगाई दियो, जोरजोर मादल घनकाउदै पाखा र पर्वत रन्काउदै, गुडयो मोटर सुसाउँदै, कालो बादले ढाक्यो निलो आकाश, तिमीले भने जस्तो म होईन, मेरो याद सधै आउँछ भन्ने लगाएतका धेरै गीतहरु गाएको बताउँछन ।
गायन सँगै कृष्णगोपाल हेटौंडामा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको डिलर सञ्चालन गर्दै आइरहेका छन् । बचेको समयमा संगीतलाई अगाडी बढाइरहेका उनले आफुले गीत संगीतमा धेरै संर्घष गरेपनि अब हेटौडामा एउटा एकल साँझ गर्ने ईच्छा रहेको उनको भनाई रहेको छ । स्व. भीम विराग, राम थापा, नारायण गोपाल लगाएतका अग्रजहरु सँगको सम्झना बेलाबखत झस्कने गर्छ तर समय कटाई सक्यो तैपनि विगत सम्झेर आफु वर्तमानमा रमाई रहेको उनको भनाई रहेको छ ।