हेटौंडा \ बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षमा भइगरेका प्रगति विवरण सोमबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा प्रस्तुत गरिएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गंगानारायण श्रेष्ठले ऐन २ वटा, कार्यविधि ७ वटा, संशोधित नियमावली दुईवटा, मापदण्ड दुईवटा, संशोधनसहित आदेश एक वटा गरी १४ वटा कानुन राजपत्रमा प्रकाशित गरिसकेको बताउनुभयो ।
उहाँले मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि पाँचवटा कार्यविधि तर्जुमा गरिएको बताउनुभयो । हामीले द्धन्दपीडितका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, जनचेतनामूलक प्रचार सामाग्री प्रशारण र वितरण कार्यविधि, यूवा सचेतना कार्यक्रम सञ्चालन कार्यविधि र स्थानीय न्यायिक सहजकर्ता नियुक्ती तथा परिचालन सम्बन्धी कार्यविधि तर्जुमा गरेका छौं, मन्त्री श्रेष्ठले भन्नुभयो ।
मन्त्रालयले गरेको प्रगति विवरणको २८ बुँदामा समावेश गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयबाट चिसो मौसम बढ्दो अवस्थामा मकवानपुरको लोपोन्मुख वनकरिया, सिन्धुलीको हायु जाती, पहरी समूदाय, थामी जाति समूदायमा न्यानो कपडा सहयोग गरिनुका साथै जागरकोट भुकम्प पीडितलाई एक करोड ५० लाख प्रदान गरिएको बताउनुभयो ।
प्रदेश सरकारले प्रदेशभित्र ८ वटा प्रहरी भवन निर्माण सम्पन्न भई प्रयोगमा ल्याएको छ भने १९ वटा क्रमागत र पाँचवटा नयाँ प्रहरी ईकाइ भवनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले बताउनुभयो । सञ्चारक्षेत्र समेत यही मन्त्रालयले हेर्ने भएकाले हामीले प्रदेशका चार सय ४० जना पत्रकारहरुको दुर्घटना बीमा लागु गरिएको छ, पत्रकारलाई विभिन्न विषयवस्तुमा तालिम प्रवाह गर्नुका साथै अनलाईन, रेडियोलाई इजाजत पत्र प्रदान गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।