हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अग्रगति बचत तथा ऋण सहकारी संस्थाको बुधबार ११ औँ वार्षिक साधारण भएको छ । संस्थाका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा बोल्दै संघका अध्यक्ष श्रेष्ठले सहकारीका नीति, विधि र नियमहरुबारे जानकारी गराएकी थिइन् । उनले बचत र ऋणको कारोबार गर्दै आइरहेकाले अब शेयर सदस्यलाई उत्पादन र व्यवसायिक बनाउने तर्फ ध्यान दिन आग्रह समेत गरकी थिइन् ।
सहकारीले आव ०७९/०८० मा दुई करोड ३० लाख १७ हजार ८८६ रुपैयाँको कारोबार गरेको छ । ७३६ जना शेयर सदस्य रहेको सहकारीमा ५५ लाख ८४ हजार ५ सय शेयरपुजीँ रहेको छ भने जगेडा कोषमा ६ लाख २२ हजार ९०८ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक दिव्या सापकोटाले बताइन् । सहकारीले आफ्ना सदस्यलाई दुई करोड १० हजार ७२४ रुपैयाँ कर्जा लगानी गरेको र संस्थाको बचत निक्षेप भने एक करोड ८ लाख ८६ हजार ९६४ रुपैयाँ रहेको व्यवस्थापक सापकोटाले बताइन् ।
सभामा अध्यक्ष विकेशलाल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक कारोबारको प्रतिवेदन कोषाध्यक्ष प्रह्लाख मिश्रले प्रस्तुत गरेका थिए । सभामा लेखा सदस्य रमा तिवारीले लेखा समितिको र ऋण समिति संयोजक मीनु अग्रवालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभामा जेष्ठ शेयर सदस्यतर्फ यद बहादुर आलेमगर र मीनकुमारी स्याङ्तान, उत्कृष्ट बचततर्फ यमलाल लामिछाने र देवनारायण साह र एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विविज्ञ बर्तौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हीमप्रसाद पौडेल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामा, संस्थाका सल्लाहकार प्रकाश खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।