हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशको समग्र विकासको दृष्टिकोणले कोशेढुङ्गा सावित भएको बताउनुभएको छ । आफु नेतृत्वको सरकार एक वर्ष पुरा भएको उपलक्ष्यमा सरकारले गरेको प्रमुख कार्यहरु सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस अवधिमा बागमती प्रदेश सरकारका तर्फबाट निकै नै महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको र प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य शुरु गरिएको समेत बताउनुभयो । प्रदेश सरकारका मन्त्रालय, निकाय तथा कार्यालयहरु स्थापना गरी सबै जिल्लाबाट सेवा प्रवाह तथा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले संघ, अन्तर प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहहरुसँग सहकार्य र समन्वय गर्ने कुरामा पनि उल्लेखनीय प्रगति भएको बताउनुभयो । प्रदेशभित्रका स्थानीय तहको क्षमता विकासका लागि सरकारले गरेको वित्तीय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा अभूतपूर्व योगदान पुगेको छ । नीतिगत, संस्थागत र कार्यप्रक्रियागत सुधारबाट सार्वजनिक सेवाप्रवाह जनमैत्री र शासन व्यवस्था जवाफदेही एवम् पारदर्शी भई सुशासन कायम हुने अपेक्षा गरिएको उहाँले भन्नुभयो ।
सरकारले संविधान प्रदत्त अधिकारहरु सम्बन्धी सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश निजामती सेवा ऐन स्वीकृत भई संगठन संरचना तथा दरबन्दी व्यवस्थापन भएको, सडक, खानेपानी, सिंचाई लगायत भौतिक पूर्वाधार विकास, प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना, प्रदेश उच्च शिक्षा परिषद् गठन, प्रदेश शिक्षा नीति निर्धारण, प्रदेश अस्पतालहरुको स्तरोन्नति गरी विपन्न असहायहरुका लागि निःशूल्करूपमा स्वास्थ्य सेवा र शय्यामार्फत स्वास्थ्य क्षेत्रमा आम नागरिकहरूको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको भन्दै मुख्यमन्त्रीले प्रदेश भित्र नेपाल भाषा र तामाङ् भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरी प्रदेश सरकारले स्थानीय भाषा संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
चेपाङ्, चिउरी तथा चमेरो संरक्षण, गृहणी महिला उद्यमशीलता, दलित समुदाय समग्र विकास, नमूना वडा समाजवादी, समुदायमा आधारित कृषि उत्पादनजस्ता नवीनतम् कार्यक्रमहरु मार्फत लैङ्गिक मूलप्रवाहीकरण र सामाजिक समावेशीकरण गरी प्रदेशबासी जनसमुदायको रोजगारी र आयस्तर वृद्धिजस्ता बहुआयामिक विकासका क्षेत्रहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ । यी उपलब्धिहरू प्रदेशको समग्र विकासका दृष्टिले कोसेढुङ्गा नै हुन्, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।
एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिवद्ध रहेको भन्नुहुँदै बागमती प्रदेश सरकार, तथा कानूनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भई १३८ निर्णयहरू गरिएको, सरकारले प्रदेश सभासमक्ष पेश गरेका सातवटा ऐन जारी भएको बताउनुभयो ।
सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्यहरु समेटिएको पुस्तक समेत प्रकाशन गरिएको छ । सार्वजनिक कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्ना भनाइ राख्नुभएको थियो ।