हेटौँडा \ बागमती प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विभिन्न विषयका उजुरी दिनेको संख्या बढ्दोक्रममा रहेको देखिन्छ । विहीबार हेटौँडामा आयोगको हेटौँडा स्थित कार्यालयको आयोजनामा आयोजित भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तरक्रियामा कार्यालयका प्रमुख उमाकान्त आचार्यले आयोगको कार्यालयमा उजुरी दिनेको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले वार्षिक सरदरको अनुपातमा दैनिक एक सयको हाराहारीमा उजुरीहरु आउन थालेको बताउनुभएको छ ।
उहाँले कार्यपत्र प्रस्तुत गर्नुहुँदै गत आवमा संघीयतर्फ तीन सय ५६ वटा उजुरी, दुईसय ४५ उजुरी फछ्र्यौट र १ सय ११ उजुरी बाकीँ रहेको, प्रदेशतर्फ ४ सय १ वटा उजुरी २ सय ५१ वटा फछ्र्यौट १ सय ५० वटा बाकीँ रहुनका साथै स्थानीय तहतर्फ एक हजार पाँच सय ६९ वटा उजुरी, ९ सय ५० वटा फछ्र्यौट र ६ सय १९ वटा उजुरी बाकीँ रहेको आचार्यले भन्नुभयो । जम्मा ६२.१७ प्रतिशत उजुरी फछ्र्यौट गर्न सफल भएको उहाँले बताउनुभयो ।
जिल्ला गत रुपमा बागमती प्रदेशको सबैभन्दा बढी मकवानपुरको रहेको छ । मकवानपुरमा तीन सय ६३ वटा उजुरी दर्ता भए भने चितवनमा दुई सय ३३ वटा उजुरी दर्ता भएका थिए । उजुरीको अनुसन्धानको क्षेत्रको आधारमा गैरकानुनी लाभहानी सात सय ८८ वटा उजुरी रहेको, सार्वजननिक खरिद निर्माणमा पाँच सय ४६ वटा रहेको, राजश्व हिनामिना पाँच सय ५ वटा उजुरी दर्ता भएको प्रमुख आचार्यले बताउनुभयो । त्यस्तै शैक्षिक प्रमाणपत्रको उजुरी २५ वटा दर्ता भएका छन् भने गैरकानुनी सम्पतिको उजुरी १९ वटा र घुस सम्बन्धि उजुरी १६ वटा दर्ता भएका छन् । दर्ता भएका मध्ये धेरै जसो उजुरी फछ्र्यौट हुन बाकीँ रहेको जनाउनुभयो ।
प्रमुख आचार्यका अनुसार चालु आवको मंसिर मसान्तसम्ममा कार्यालयमा परेका उजुरीहरुमा संघीयतर्फको बागमती प्रदेशको ८३ वटा, प्रदेशतर्फ एक सय ६० वटा र स्थानीयतर्फ तीन सय तीनवटा उजुरी दर्ता भएको बताउनुभएको छ ।
प्रदेशका मन्त्रालयहरुको लागि पनि उजुरी दर्ता भएका छन् । मंसिरमसान्त सम्ममा भौतिक पूर्वाधार मन्त्रालयमा एक सय ४ वटा, वन मन्त्रालयमा ९४ वटा, स्वास्थ्य मन्त्रालयमा ५१ वटा, कृषि तथा पशुपन्छी मन्त्रालयमा ३२ वटा, भौतिक मन्त्रालयको शहरी विकासतर्फ २८ वटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १६ वटा, खानेपानीतर्फ १२ गरी विभिन्न मन्त्रालयका महाशाखा अन्तरगत गरी कुल तीन सय ५९ वटा उजुरी दर्ता भएकोमा एक सय ५३ वटा फछ्र्यौट गरिएको र दुई सय ६ वटा फछ्र्यौट हुन बाकीँ रहेको आचार्यले बताउनुभयो ।
त्यस्तै जिल्लागत रुपमा काठमाडौँमा सबैभन्दा बढी उजुरी परेका छन् भने रसुवामा कम उजुरी परेको तथ्याङ्कमा उल्लेख छ । काठमाडौंमा तीन हजार पाँच सय ३२ वटा, मकवानपुरमा चार सय ३८ वटा, ललितपुरमा तीन सय ९५ वटा, चितवनमा दुईसय ७७ वटा, भक्तपुरमा दुईसय ४४ वटा, रामेछापमा एक सय १२ वटा, धादिङमा एक सय ११ वटा, सिन्धुपाल्चोकमा १ सय ५ वटा, सिन्धुलीमा ९९ वटा, नुवाकोटमा ९७ वटा, दोलखामा ७८ वटा र रसुवामा २८ वटा उजुरी दर्ता भएको हो ।
प्रायजसो उजुरीहरु सार्वजनिक निर्माणसँग सम्बन्धि, सार्वजनिक खरिद ऐन, उपभोक्ता समिति गठनसँग सम्बन्धित उजुरी पर्नुका साथै नदीजन्य पदार्थ उत्खनन् सम्बन्धि, कर्मचारी नियुक्ति, तालिम तथा क्षमता विकाससँग सम्बन्धित, राजश्व अपचलन, सार्वजनिक जग्गाको संरक्षण, सेवा प्रवाह सम्बन्धित उजुरीहरु बढीजसो आउने गरेको प्रमुख आचार्यले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा आयोगका सहन्यायधिवक्ता कृष्ण मोहन कोइरालाले भ्रष्टचारका कारण र असर, भ्रष्टाचारजन्य कसुर तथा सजायको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले आयोगको संवैधानिक, कानुनी, संरचना व्यवस्था र रणनीति, भ्रष्टाचार कसुरको प्रवृत्ति विश्लेषण, उजुरी दर्तापछिको छानविन, अनसन्धानका प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
आयोगका आयुक्त किशोर कुमार सिलवालको अध्यक्षता तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु, कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।