आज शुक्रबारबाट नेपालमा दुई नेपाली चलचित्र‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ देशभरका सिनेमा घरमा प्रदर्शन भएका छन् । बाबु छोरीको सम्बन्धको कथा बोल्ने चलचित्र ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खी बसेँ तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक चलचित्र हो ।
घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रूपमा राम्रा चलचित्र निर्देशन गरेका थिए । घनश्यामका अनुसार ‘चित्रा’ले विशेष रूपमा बाबु छोरीको कथालाई प्रस्तुत गरेको छ । ‘बाबु छोरीको कथासँगै अन्य कथाहरू पनि जोडिँदै जान्छन् । चलचित्रले साथीत्वको कथालाई पनि प्राथमिकता दिएको छ’, उनी भन्छन् ।
चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो ।
त्यस्तै निर्देशक दीपकको ‘पर्खी बसेँ तिमीलाई’ २७ औं निर्देशकीय चलचित्र हो । चलचित्र ‘पर्खी बसेँ’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा डेब्यु गराएका दीपकले ‘पर्खी बसेँ तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीजस्ता नयाँ अनुहारलाई नेपाली चलचित्रमा भित्र्याउँदै छन् ।
‘मेरो तीन दशकको चलचित्र करियरमा दर्शकलाई प्रेमकथाका चलचित्र दिएको छु । पर्खी बसेँ तिमीलाई पनि त्यसैको निरन्तरता हो,’ दीपक भन्छन् । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा किरण र रक्षासँगै शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय छ । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण छ ।