हेटौंडा \ हेटौंडामा सहकारीकर्मीहरुले तीज विशेष कार्यक्रम गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले साकोस मार्फत महिला सशक्तिकरण विषयक तीज विशेष कार्यक्रम गरेको हो । शुक्रबार हेटौंडामा संघका महिला उपसमितिका संयोजक जुना दंगालको अध्यक्षता तथा संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख अतिथ्यतामा तीज विशेष कार्यक्रम गरिएको हो ।
संघमा आवद्ध भएका महिला सहकारी संस्थाका अध्यक्ष एंव व्यवस्थापकहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो । महिलाहरुको पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा संघले महिला सशक्तिकरण विषयक अन्तरक्रिया गर्दै तीज कार्यक्रम गरिएको हो । कार्यक्रममा दर खाएर नाचगानका साथ कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष कल्पना श्रेष्ठले तीजको पौराणिक महत्व, तीजको सामाजिक महत्व, मनको बह पोख्ने उत्सव, राजनैतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, प्रहरी, न्यायलय आदि क्षेत्रमा महिलाको आजको अवस्था र अवस्था परिवर्तनको लागि हाम्रो भूमिका बारे प्रस्तुतीकरण प्रस्तुत गरेकी थिइन् । उनले नेतृत्व, नेतृत्व किन आवश्यक छ, सहकारीको वर्तमान तरलताको अवस्था र सहकारी संस्था एवं सहकारीका सदस्यले ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा छलफल समेत गरेकी थिइन् ।
कार्यक्रममा संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवाले संघले तयार पारेको चार वर्षिय रणनैतिक योजनाबारे जानकारी प्रस्तुत गरेकी थिइन् । उनले संघको शेयरपुजीँ ४ करोड ४१ लाख ६५ हजार रहेको बताइन् ।
संघले आफ्ना शेयर सदस्य संस्थालाई ३८ करोड ४८ लाख ४२ हजार कर्जा प्रदान गरिएको र संघको निक्षेप ६८ करोड १० लाख १९ हजार रहेको व्यवस्थापक वाईवाले बताइन् । संघमा हाल १३९ वटा सहकारी संस्था आवद्ध रहेका छन् ।