मकवानपुरगढी \ मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता सुरु भएको छ ।
समितिका अध्यक्ष हिरा स्याङ्तानको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु गरिएको हो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन, वडा २ का वडाध्यक्ष बखान सिं पाख्रीन, वडा १ का अध्यक्ष आइतसिं लो, वडा ३ का वडाध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा सदस्यहरु, सहिद रुद्र पाख्रीन बाटिकाका संरक्षक भीम बहादुर पाख्रीन, फुटबल संघ प्रदेश महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइराला, गाउँपालिका शिक्षा शाखा प्रमुख राम घलान,राजनितिक दलका प्रतिनिधि लगायत विभिन्न सामाजिक संस्थाहरुका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
तीन दिन सम्म चल्ने प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै शनिबारबाट खेल सुरुभएको समितिका संयोजक हिरा स्याङ्तानले बताए । प्रतियोगिता माघ १ गते समापन हुनेछ । प्रतियोगिताका लागि सात वटा टिमले नाम दर्ता गराएका छन् । दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरिएको छ । समूह ए तर्फ हेटौंडा फुटबल एकेडेमी, आयोजक मकवानपुरगढी खेलकुद विकास समिति, बागमती गाउँपालिका र थाहा नगरपालिका रहेको संयोजक स्याङ्तानले बताए । त्यस्तै समूह बी तर्फ मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका ए र बी रहेको छ ।
पहिलो उद्घाटन खेल आयोजक र हेटौंडा फुटबल एकेडेमीबीच हुने भएको छ । आजै चारवटा खेल हुनेछ । लिग चरणमा हुने प्रतियोगिता माघ १ गते फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले एक लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता मक्रान्चुलीको फुटसल खेल मैदानमा भएको हो ।