हेटौँडा \ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जीर्ण तथा बन्द उद्योगहरुलाई पिपिपि मोडल वा आधुनिकिकरण गरी सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । हेटौँडामा शनिबार उद्योग संघ मकवानपुरको २२ औं साधारणसभा एवम् अधिवेशनलाई सम्बोधन गर्नुहुदै मन्त्री रिजालले बन्द तथा जीर्ण उद्योगहरु पिपिपी मोडलमा सञ्चालन नगर्ने हो भने सरकारको लगानी व्यर्थ हुने बताउनु भयो ।
बन्द उद्योगहरुलाई सरकारी, सामुदायिक र निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्नुपर्ने भन्दै सरकारले उद्योगी व्यवसायीहरुको हितका लागि ल्याएको योजनाहरु केही शक्तिहरुले कार्यान्वयन हुन नदिने गरेको उल्लेख गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रको पुर्वाधार निर्माणका लागी सरकारले बजेट विनियोजन गरेको बताउदै राज्यलाई गाली गरेर मात्र समृद्धि नआउने बताउनु भयो ।
अख्तियार, अदालत र मिडियाका साथै उद्योगहरुमा रहेका ट्रेड युनियनका कारण उद्योग चल्ने अवस्था छैन । व्यवस्थापन पक्ष र ट्रेड युनियनका पदाधिकारीहरुको मिलेमतोमा उद्योगभन्दाहरु बन्द गर्ने तथा कमाउने काम हुने गरेको टिप्पणी गर्दै मन्त्री रिजालले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले नेपाली सेनासँग सहकार्यको तयारी रहेको भन्नुभयो । उहाँले उद्योगहरुको असमान भाडा घटाएर उद्योगीहरुलाई संरक्षण गर्न सरकारले प्रयास गरिरहेको उहाको भनाई रहेको छ । सरकारले उद्योगहरुको समस्या समाधानका लागि ऐन कानुन समय सापेक्ष बनाउनका लागि परिमार्जनको गरिनुपर्ने बताउनुभयो ।
सरकारले आवश्यक नीति, नियम तर्जुमा गर्ने, लगानीको वातावरण बनाउने, औद्योगिक सुरक्षाको प्रत्याभूति दिने, सरोकारवाला निकायहरूबीच समन्व गर्ने गराउने, करमा सहुलियत दिने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नितिसहित अघि बढेको उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले उद्योगी व्यवसायीहरुलाई लगानीको वातावरण तयार गरिदिनु पर्ने बताउनु भयो । हालको परिस्थितीमा उद्योगीहरु निराश बनिरहेकाले सरकारले उद्योगीलाई निर्यातमुखी उत्पादनमा प्रोत्साहन गर्नु पर्ने जनाउनुभयो । यसैगरी कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले उद्योगी व्यवसाय सञ्चालनका लागि सरकारले उद्योगमैत्री वातावरण तयार गर्नका लागि नीतिगत सुधार गर्न सरकारले अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले देशको एक मन्त्रालयले विकासको योजना घोषणा गर्छ अनि अर्कोले रोक्छ यसरी उद्योग व्यावसायिक हित नहुने बताउनु भयो । उहाँले निकुञ्ज र मध्यवत्र्ती क्षेत्रका कारण काम गर्न सक्ने अवस्था नदेखिएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको काम भाडा उठाउने मात्र नभई उद्योगीहरुलाई प्रोत्साहन गर्न प्रशासनिक प्रक्रिया सहज बनाउन जरुरी रहेको बताउनुभयो । उद्योग संघ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले उद्योग व्यवसायीहरुको तत्काल समस्य हल गरि सहज वातावरण बनाइदिन आग्रह गर्नुभयो ।