मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको सहिद रुद्र पाख्रीन,बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक टिम खेलकुद विकास समितिलाई ७-४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि हात पारेको हो ।
मक्रान्चुलीमा रहेको भानु मिनिपिच (फुटसल) मा प्रतियोगिता भएको थियो । उपाधी सँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको मकवानपुरगढीले ७५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलमा उत्कृष्ट गोल रक्षक हेटौंडाका सुजन लामा घोषित भए भने मकवानपुरगढीका सुजन बोम्जन प्रतियोगिता अवधिभरमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै, हेटौंडाका समिरराज थोकर उत्कृष्ट खेलाडी र मकवानपुरगढीका दुर्लभ दुलाल उदयमान खेलाडी भनी पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा ७ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता पुस २८ गतेदेखी सञ्चालित थियो । विजेता र उपविजेतालाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दार्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रीनले पुरस्कार प्रदान गरेका थिए ।
मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हिरा बहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन, वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे लगायत विभिन्न संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा सहिद रुद्र बहादुर पाख्रीन र बासुदेव घिमिरेको परिवारलाई समेत सम्मान गरिएको थियो । मकवानपुरगढी ४ निवासी स्वर्गीय पाख्रीन १० बर्षे सशस्त्र आन्दोलनका सहिद हुन भने मकवानपुरगढी ५ निवासी घिमिरे जन आन्दोलन २०६२ ६३ का सहिद हुन् ।