आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन ।
तत्कालीन समयमा नेपालकै दरबारभित्र हिन्दी, उर्दूका नाटकहरूको बोलबाला हुँदा नेपाली भाषामा शकुन्तला, प्रियदर्शिका र पद्मावती जस्ता नेपाली नाटक मोतीरामले लेखेका थिए । उनकै प्रयासले दरबारभित्र नेपाली भाषाको नाटकले प्रवेश पाएको देखिन्छ । मोतीरामकै प्रयासबाट नेपालीमा गजल लेखन प्रारम्भ भयो ।
विसं १९२३ कुशेऔँसीका दिन (भदौ २५ गते) शनिबार काठमाडौँको भोसीको टोलमा जन्मिएका उनले भानुभक्तलगायत थुप्रै पुराना कवि र तिनका कृतिहरूको खोज अनुसन्धान गरी प्रकाशमा ल्याए । विशेष गरी भानुभक्तलाई नेपालीमाझ चिनाउने र उनका कृति प्रकाशन प्रसारण गर्ने काम गरे ।
पेसाका दृष्टिले मोतीमण्डलीको स्थापना, समस्यापूर्तिका आरम्भकर्ता, भारत जीवन प्रेसका संस्थापक, मोतीकृष्ण धीरेन्द्र कम्पनीका संस्थापक, पाशुपत छापाखानाका संस्थापक भनेर चिनिने उनी देव शमशेरका नजिकका साथी पनि थिए ।
नेपाली साहित्यका युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
कुशे औँसीका दिन जन्मिएका मोतीरामको विक्रम संवत् १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो भने नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । नेपाली भाषामा गजलको सुरुवात पनि मोतीरामले नै गरेको मानिन्छ।