• श्रीराम अर्जुन
मकवानपुरगढी \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको शुक्रबार १० औँ गाउँसभा गर्दै बजेट संशोधन गरेको छ । बजेट संशोधन गर्दै प्रतिलिटर दुध अनुदानका लागि ६० लाख बजेट विनियोजन गरिएको हो । गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनले गाउँसभालाई सम्बोधन गर्दै उक्त रकम विनियोजन गरिएको हो । त्यस्तै गाउँपालिकाले पालिका प्रहरीका लागि तीस लाख बजेट छुट्याएको छ । पालिकाले छुट्टै प्रहरी परिचालन गर्ने हेतुले पहिलो चरणमा तीस लाख बजेट राखिएको उपाध्यक्ष पाख्रीनले सभामा बताईन् ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा बसेको गाउँसभाले चालु आवका केही शीर्षकका खर्च कटौति गरी बजेट रकम घटाएको छ । बजेट संशोधन गर्दै गाउँपालिकाले चार करोड २६ लाख ३६ हजार बजेट कतौती गरिएको गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दाहालले बताए । 'हामीले विभिन्न शीर्षकका केही रकम कटौति गरी केही शीर्षकहरु भने थप गरी बजेट तयार पारेका छौं', प्रवक्ता दाहालले भने । सम्रगमा तीन करोड ३६ लाख कटौती गरिएको छ । कटौतिमा राजश्वबाँडफाँडतर्फ कर्मचारीका पारिश्रमिक, अतिरिक्त कार्य गरे वापत कर्मचारी भत्तादेखी विभिन्न विकास निर्माणका कार्य, तालिमगोष्ठीहरुको बजेट कटौति गरिएको प्रवक्ता दाहालले बताए ।
गाउँपालिकाले प्रदान गर्दै आइरहेको प्रतिलिटर दुध अनदान कार्यक्रम प्रदेश सरकारले पनि प्रदान गर्नाले एउटै शीर्षकमा दोहोरो सेवा भएकाले रोकिएको अनुदान कार्यक्रमलाई गाउँपालिकाले ६० लाख बजेट छुट्याएको हो । अहिले प्रदेश सरकारले उपलब्ध गराउन नसक्ने जनाएपछि किसानलाई अब गाउँपालिकाले नै उक्त रकम प्रदान गर्ने प्रवक्ता दाहालले बताए । चालु आवमा उक्त शीर्षकमा बजेट नराखेकाले गाउँसभाबाट संशोधन गरी रकम विनियोजन गरिएको दाहालले भने ।
चालु आवका लागि गाउँसभाले ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । सोही अनुरुप केही बजेट अपुग रहने भएकाले उपाध्यक्ष पाख्रीनले बजेट संशोधन प्रस्तुत गरी गाउँसभाबाट बहुमतले पास समेत गरिएको छ । गाउँपालिकाले पुस मसान्त सम्म ४३ दशमलव ३ प्रतिशत आय गर्न सफल भएको छ भने २५ दशमलव १८ प्रतिशत खर्च गरेको उपाध्यक्ष पाख्रीनले बताइन् ।
सभामा अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक संशोधन समेत पास गरिएको छ । प्रस्तुत गरी विभिन्न प्रस्तावलाई पूर्वाधार विकास समितिका संयोजक एंव वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीन र अर्थ समितिका संयोजक एंव वडा ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईले सर्मथन पश्चात सभाबाट प्रस्तुत भएका सबै प्रस्तावहरु बहुमतले पास गरिएको प्रवक्ता दाहालले बताए । सोही सभाले आर्थिक विधेयकको अनुसुची १२ क चालु आर्थिक वर्षका लागि नक्सा पास तथा नक्सा सँग सम्बन्धित दररेट समेत पास गरिएको छ ।
गाउँसभा वडा नम्बर ८ बुढीचौरमा गरिएको थियो । सभाले करारका कर्मचारीहरुको म्याद थप गर्ने, जिन्सी समान लिलाम, मिन्हा गर्ने, तलबी प्रतिवेदन स्वीकृती, आय व्यय विवरण समर्थन, आर्थिक र प्रशासनिक निर्णय अनुमोदन नियमावी कार्याविधि अनुमोदन गर्ने निर्णय समेत गरेको छ । सभामा ८ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।