हेटौंडा \ हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले शिक्षा क्षेत्रमा बागमती प्रदेश सरकारले महत्वपूर्ण कामको थालनी गरेको बताएकी छिन् ।
मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालयका रुपमा अगाडी बढाउन लागिएको र यसको काम भइरहेको उनले बताईन् । अब सामुदायिक विद्यालयमा पनि पढाइमा गुणस्तर कायम गर्नुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा सिद्धार्थ माविकी शिक्षिका संगीता कुमारी पुडासैनीले गोकुल–बागेश्वरी सम्मान प्राप्त गर्नुभएको छ । विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसरमा नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर पुडासैनीलाई सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षिका कविता न्यौपाने सहित विद्यालयकी कर्मचारी शोभा श्रेष्ठलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षकमा अम्बिका प्याकुरेल नगद ५ हजार सहित प्रशंसापत्र पत्रले सम्मानित गरिएको थियो भने कार्यक्रममा २०७९ सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका विषयका विषय शिक्षकहरू समेत सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो भने विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो। कार्यक्रममा आयोजक गरिएको शैक्षिक सामग्री प्रदर्शन र खाना महोत्सवमा सहभागिहरुले अवलोकन समेत गरेका थिए।
कार्यक्रममा संविधानसभा सदस्य अन्नत पौडेल, मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल,शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, २ नम्वर वडा सदस्य सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, मकवानपुर क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्याय, विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको थियो ।