बागमती \ मकवानपुरको बागमती गाउँपालिकाको मुख्य प्रायोजकमा आयोजनामा हुन लागेको छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले प्रतियोगिताबारे जानकारी गराएका थिए । फापरबारीमा रहेको जनता माविको खेल मैदानमा हुने प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा ६९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । १ गतेबाट सुरु हुने प्रतियोगिता फागुन १० गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ आयोजकले जनाएको छ । पाँचौं संस्करण भन्दा यसवर्ष पुरस्कार राशी वृद्धि गरिएको अध्यक्ष श्रेष्ठले बताए । ०७४ देखी सुरु भएको बागमती गोल्ड कप हरेक वर्ष सञ्चालित छ । ०७८ मा भने विविध कारणले गर्न नसकेको श्रेष्ठले बताएका थिए । गत संस्करण ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि हात पारेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले स्थानीय तहले खेलाडी उत्पादन गर्न लगानी गरेको बताउँदै खेलप्रति चासो र लगाव राखेको अवस्था रहेको बताए । 'गोल्डकपको सुरुवातले पालिकाभित्र रहेका महिला वा पुरुष खेलाडीहरुको आकर्षण वृद्धि भइरहेको अवस्था छ, हामीले विद्यालय देखीनै खेल प्रति विद्यार्थीलाई समेट्दै त्यसमा शिक्षक र अभिभावकलाई समेत जोड्दै लगिरहेका छौं, अध्यक्ष घलानले भने ।' प्रशिक्षक राखेर विभिन्न खेलको प्रशिक्षण दिइरहेका छौं ।
पालिका क्षेत्रमा हामीले मिनिरंगशालाको अवधारणा ल्याएर डिपीआर समेत गरेर माथिल्लो तहमा पठाएका छौं, पालिकामा २२वटा भन्दा बढी खेल मैदान छन् त्यसलाई हामी व्यवस्थित गर्न तर्फ लागिरहेको अध्यक्ष घलानले बताए ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल लगायतको उपस्थिती रहेको थियो ।