मकवानपुरगढी \ बागमती प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले मकवानपुरगढी दरवारक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा अघि सार्नपर्ने बताउनुभएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधबार आयोजित ऐतिहासिक मकवानपुरगढीको २६१ औँ विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले गढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले गढीलाई गुरुयोजनानै बनाएर तीन तहकै सरकारको सहकार्यमा यसको वृद्धि विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पहिलो एकीकरण मकवानपुरबाट सुरु गरेको इतिहास रहेको बताउँदै त्यसबेला बाईसेचौबिसे राज्य मध्ये मकवानपुर एक छुट्टै राज्य रहेको बताउनुभयो । मकवानपुर राज्यमा पाल्पा, रुपन्देही, पर्सादेखी सिन्धुली हुँदै बेङ्लोरसम्म रहेको इतिहासमा उल्लेख छ ।
अहिले नेपालमा सात राज्य र एक अधिराज्य छ, संघीयताले यसलाई छुट्याएको छ, नेता बानियाँले भन्नुभयो । उहाँले मकवानपुरगढी किल्ला सँग सेन राजाको पालामा आफ्नो पुर्खाले पनि मन्त्री भई काम गरेको इतिहास रहेको भन्नुभयो ।
गढी दरवार परिसरमा सेना टुकडी राख्न आग्रह भए बमोजिम आफुले सेनाको माथिल्लो तह सम्म र संघीय सरकार समक्ष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेता बानियाँले गढी परिसरमा निर्माणधिन विभिन्न संरचनाका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने बताउनुभयो ।
वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको सभाध्यक्षतामा भएको विजय उत्सव कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेशका पूर्व स्वास्थ्य मन्त्री नीमा लामा, गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौँडाका उपरथि प्रदीप जंग केसी, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी निरन्जन धामी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकीलराज बानियाँले नेपालको एकीकरण, पृथ्वीनारायण शाह र समग्र मकवानपुरगढी दरवारको इतिहास र अहिलेको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।