हेटौँडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका अधुरा योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । विहीबार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बहुवार्षिय प्रादेशिक अधुरा योजना तत्काल पुरागर्न तर्फ निर्देशन दिनुभएको हो ।
‘कतिपय योजना अलपत्र छन्, ती योजना पुरा गर्नुस,’ मुख्यमन्त्रीले भन्नुभयो । अधुरा योजना सम्पन्न पश्चात मात्र नयाँ योजनाहरु बनाउन आग्रह गर्नुहुँदै अधुरा योजनाले गर्दा भुत्ताmनीमा समेत समस्या उत्पन्न हुँदै गएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा सडक विस्तारमा प्रदेश सरकार अग्रसर रहेको भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
हिजोको जस्तो अवस्था छैन्, अहिले धेरै नै विकास हुँदै गएको छ, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । हामी आवश्यक नीति र योजना बनाउँछौ, कार्यान्वयनमा कर्मचारीले नै गर्ने भन्दै कार्यसम्पादनको मुल्यांकन सरकारले गरिरहेको बताउनुभयो । काममा समस्या हुने भएकाले कर्मचारी हामी सरुवा गर्दैनौ, धेरै कर्मचारी सरुवाले पनि काम गर्न समस्या आइपरेको उहाँले बताउनुभयो ।
प्रदेशको ठुलो बजेट रकम भौतिक मन्त्रालय मातहतका कार्यालयहरुमा हुने भएकाले प्रदेश सरकारको परिणामुखी नतिजा पनि पूर्वाधार विकास कार्यालयबाट नै हुनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव अमृत श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेशभित्र रहेका ८ वटा पूर्वाधार विकास कार्यालय क्षेत्रका प्रगति विवरण प्रस्तुत गरिएको थियो भने मन्त्रालय मातहतका आयोजना र निर्देशनालयको समेत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।