हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश समितिको स्थापना दिवस समारोहलाई हेटौँडामा शुक्रबार सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्नो कमीकमजोरी सञ्चाएर कांग्रेस सुध्रनुपर्ने बताउनुभयो । पहिल्लो समय पदमा पुगेपछि पार्टीभित्र वा जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी बहन गर्नउन्मुख नभएको भन्दै अब सुशासन र आर्थिक क्रियाकलापका सक्रिय रहन आग्रह गर्नुभयो ।
उहाँले आफुले गर्नुपर्ने काम नगर्ने अनि आफु बाहिर भएपछि त्यो भएन र यो भएन भनेर आरोप लगाउने शैली हट्नुपर्ने भन्दै नेता सिंहले कांग्रेसभित्र अब बेरोजगारलाई रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु तल्लोतहबाटै हुनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्र सहित जनताको ईच्छा आकांक्षा अनुरुप काम गर्नुपर्ने बताउनुभयो ।
इतिहास बोकेको पार्टी नेपाली कांग्रेस संविधान निर्माण र कार्यान्वयनको पक्षमा निरन्तर लागिरहेको बताउनुभयो । उहाँले विघटन गरिएको संसदलाई समेत व्युउँताउन विभिन्न दलसँगको सहकार्यमा संविधानको रक्षा गरिएको भन्नुभयो । देशमा सुशासन र अर्थतन्त्र चलायमान बनाउन नेपाली कांग्रेस सधै अग्रसर रहेको छ, त्यसतर्फ सबै कांग्रेसीजन लाग्नुपर्छ, नेता सिंहले भन्नुभयो । उहाँले राष्ट्रिय सभा सदस्यमा निर्वाचितलाई शुभकामना दिँदै देश र जनताको पक्षमा र संविधान रक्षाको पक्षमा लाग्न आग्रह गर्नुभयो ।
प्रदेश सभापति ईन्द्र बहादुर बानियाँको सभाध्यक्षतामा भएको उक्त समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजन केसी, केन्द्रीय सदस्य एंव प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु जीतजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण प्रसाद अधिकारी र धनश्याम रिजाल विश्वकर्मा, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, प्रदेश उपसभापति चन्द्र महर्जन लगायतले आफ्नो भनाई व्यक्त गर्नुभएको थियो ।