भीमफेदी \ बागमती प्रदेशमै पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराइएको छ । आज संघीय सरकारका सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आजै ९८ जना श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराइएको हो । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने मध्य दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो ।
भीमफेदी गाँउपालिकाको गाँउसभावाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी भिमफेदी गाउपालिका र योगदानमा आधारीत सामाजिक सुरक्षा कोष बीच सम्झौता भएपछी आज औपचारिक रुपमा भव्य कार्यक्रमका बीचमा कोषमा आवद्धता गराइएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
शनिबार सामाजिक सुरक्षा योजना सुरूवात गर्दै गाउँपालिकाले ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो । अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रूपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रूपैयाँ गरी २ हजार २०४ रूपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।
श्रमिकको हक संरक्षणका लागि गाउँपालिकाले दायित्व लिएको अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको अध्यक्ष लामाले बताए ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।