हेटौंडा \ नेपाली बजारमा ‘अनर एक्स नाइन बी’ स्मार्टफोन उपलब्ध भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले नेपालभरका सबै शहरमा उक्त फोन उपलब्ध गराएको छ । यस फोनको प्रिअर्डर समेत खुलाएको थियो ।
हेटौंडामा पनि सोमबार उक्त मोडलको सार्वजनिक गर्दै विक्री सुरु भएको जानकारी गराइएको छ । हेटौंडाका लागि आधिकारिक विक्रेता एस.के. सप्लायर्सले एक कार्यक्रमका बीच उक्त मोडल सार्वजनिक गर्दै विक्री सुरु भएको घोषणा गरेको छ ।
सप्लायर्सका सञ्चालक कृष्णसागर श्रेष्ठको अध्यक्षता तथा मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका संस्थाका अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाई, निवर्तमान अध्यक्ष दिनेश लामा, महासंघ प्रदेश कोषाध्यक्ष मिलन स्याङ्तानलगायतले उक्त स्मार्टफोनबारे आफ्ना भनाई राखेका थिए ।
‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा आएको यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडी ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा रहेको छ ।
६.७८ इन्च एमोलेड कभ्र्ड डिस्प्ले रहेको फोनमा ५ हजार ८ सय एमएएच क्षमताको ब्याट्री रहेको छ, जसका लागि कम्पनीले ३५ वाटको चार्जर साथमा दिएको छ । क्वालकम स्न्यापड्रागन सिक्स जेन वन चिपसेटबाट सञ्चालित यो फोन एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ मा चल्ने सप्लायर्सका प्रमुख मनोज थापाले बताए ।
यस फोनमा अल्ट्रा बाउन्स एन्टी ड्रप डिस्प्ले रहेको छ, जसमा बलियो प्रोटेक्टिभ ग्लास सहित तीन तहको डिस्प्ले टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ । कम्पनीले पाँच फिटबाट फोन ड्रप गर्दा पनि कुनै क्षति नहुने गरी फोनको फ्रेम र कम्पोनेन्टहरू डिजाइन गरिएको दाबी समेत गरेको छ ।
नेपाली बजारमा १२ जीबी र्याम तथा २५६ जीबी भेरियन्टमा उपलब्ध हुने यो फोनको बजार मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको सप्लायर्सका सञ्चालक कृष्णसागर श्रेष्ठले बताए । उक्त मोडलको फोन हेटौंडाका सबै मोवाईल पसलमा उपलब्ध रहने बताएका छन् । कार्यक्रममा हेटौंडाका मोवाईल व्यवसायीहरुको सहभागिता रहेको थियो ।