हेटौंडा \ दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले १४ औं वार्षिकोत्सव विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । सहकारीको २६ औं स्थापना दिवस र रेडियोको १४ औं वार्षिकोत्सवमा अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मंगलबार सहिद दिवसको दिन सहिद विषयमा साहित्यकारसँग अन्तरक्रिया हुने छ भने १७ गते हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग, १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक नगरस्तरीय वक्तृत्वकला हुने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।
फुट्सल प्रतियोगिताको विजेता र उपविजेता टिमले नगदसहित ट्रफी प्राप्त गर्नेछन् भने वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ६ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्तिम दिन २२ गते वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । उक्त दिन समाजमा विशेष योगदान पु¥याएका दुईजना व्यक्तिलाई जनही नगद १० हजार रुपैयाँ सहित सामुदायिक सम्मान प्रदान गरिने पराजुलीले बताए । रेडियोले वार्षिकोत्सवको अवसरमा दुईजनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।
हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको रेडियोले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले बताए । पत्रकार सम्मेलनमा दिव्यतारा सहकारीका सचिव ईश्वर पण्डित, कोषाध्यक्ष ज्ञानेन्द्र बर्तौला, कार्यसमिति सदस्य माधव न्यौपाने, रेडियो सञ्चालक समितिका सदस्य उत्सव ईटेनी, यतिराज सापकोटा, सहकारीका व्यवस्थापक रमेश कोइराला लगायतको आतिथ्यता थियो ।