काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
सहिद दिवस, २०८० को अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ, “सहिदको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैँ बनाएका छौँ । सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौंँ ।” उहाँले सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न यस दिवसले थप प्रेरित गरोस् भन्ने पनि कामनासमेत गर्नुभएको छ ।
सन्देशमा उल्लेख छ, “आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आमनागरिक र सम्बद्ध सबैलाई नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।”
यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहिद दिवसका अवसरमा जारी गर्नुभएको सन्देशमा देश र जनताको अधिकारका लागि वीरगति प्राप्त सहिदको स्मरणमा मनाइने सहिद दिवसले मुलुकमा सुशासन, विभेदरहित समाज निर्माण र दिगो विकासका लागि आआफ्नो क्षेत्रमा इमानदारीसाथ लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँको सन्देशमा उल्लेख छ, “सहिदको बलिदानबाट प्राप्त उपलब्धिका माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकाङ्क्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आमनागरिक समाजलगायत सबै दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मसाथ लाग्नु आजको आवश्यकता हो ।”