हेटौंडा \ भुटानको पारो एफसीलाई ३–१ ले हराउँदै स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा सर्लाहीको बागमती युवा क्लबले विजय यात्रा सुरु गरेको छ। मंगलबार हेटौंडा-६ स्थित गौरिटार रंगशालमा भएको छैठौं संस्करणको उद्घाटन खेलमा सर्लाहीले पारोमाथि सहज जित निकालेको हो।
पारो पोखराको आहा रारा गोल्डकपमा पनि पहिलो खेलमै पराजित भएको थियो। बागमतीका लागि राज भुषालले दुई र सिर्जन गौतमले एक गोल गर्दा पारोको तर्फबाट एक मात्र गोल सिरब दोर्जीले गरेका हुन्। बागमतीले चौथों मिनेटमै खेलमा अग्रता लिएको थियो। भुषालले पहिलो गोल गरेका हुन्। २७ औं मिनेटमा गौतमले अग्रता दोब्बर पारे। ५५ औं मिनेटमा भुषालले व्यक्तिगत दोस्रो तथा बागमतीका लागि तेस्रो गोल गरे।
एकपक्षीय खेलकाे ७६ औं मिनेटमा भुटानका दोर्जीले एक गोल गरेपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन्। पहिलो हाफको ३१ औं मिनेटमा पारोका पाउब थिन्लेको प्रहारलाई बागमतीका आयुषकुमार मगरले गोललाइनबाट क्लियर गरेका थिए। त्यसको केही मिनेटपछि थिन्लेले दुई डिफेण्डरलाई छक्याएर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
दोस्रो हाफको सुरुवातमै बागमतीका सिर्जन गौतमको प्रहार बारमा लागेर फर्कियो। खेलमा पारोले खासै मुभ बनाउन सकेन। खेलमा २ गोल गरेका भुषाल म्यान अफ दी म्याच घोषित भए। उनले नगद दश हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे।
बागमतीले दोस्रो चरणमा घरेलु टिम एन्फा मकवानपुरसँग प्रतिस्पर्धा गर्नेछ। विजयी टोली बागमतीका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले खेलको सुरुमै गोल निस्किएकाले जित्न सफल भएको प्रतिक्रिया दिए। नियमित प्रशिक्षणमा रहेका खेलाडीलाई मैदानमा उतार्दा नतिजा आफ्नो पक्षमा आएको उनको भनाई थियो।
यता पारोका टिम म्यानेजर सागर मैनालीले मैदानको असहजताका कारण कमजोर देखिएको प्रतिक्रिया दिए। नेपालमा तेस्रो पटक खेल्न आएपनि मैदान बुझ्न नसक्दा खेलमा पराजय व्यहोर्नु परेको उनको भनाई थियो। दोस्रो हाफमा केही सुधारिएको खेल प्रस्तुत गरेपनि पाएको मौका सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनले बताए। खेलमा बुधबार ‘ए’ डिभिजन टोली एनआरटी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ।
१२ टोलीको सहभागिता प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन्। २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे आयोजक मकवानपुर जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले जानकारी दिए।-नागरिक