हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा अवस्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगबाट उत्पादित दुग्धजन्य परिकारहरुको हेटौंडा बजारबाट बिक्री सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बिक्री केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष लामाले सहकारीमार्फत उत्पादित वस्तु सुपथ र गुणस्तर बनाई बिक्री केन्द्रबाट बिक्री आग्रह गरेका थिए । कोल्डड्रिंग्स भन्दा दहीबाट बनेको मोही प्रयोगलाई प्राथमिकता राख्नुपर्ने बताउँदै दुधका परिकार प्रयोग गरि स्वस्थ बन्न अध्यक्ष लामाले बताए ।
हेटौंडा २ पुरानो मकवानपुररोडमा सहकारीले आफ्नो बिक्री केन्द्र सञ्चालन गरी उत्पादित वस्तु सहज र सुपथ मुल्यमा बिक्री वितरण गरिने जनाइएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालको अध्यक्षतामा गाउँपालिका अध्यक्ष लामाको प्रमुख आतिथ्यतामा बिक्री केन्द्रको सुरुवात गरिएको हो । कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, सहकारीका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेललगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले दैनिक पाँच हजार दुध संकलन गरी बिक्री गर्ने गर्दछ । आफ्नै उद्योगबाट दैनिक दुई हजार पाँच सय लिटर दुधको विभिन्न परिकारहरु तयार गर्ने गरेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए । किसानबाट संकलित दुधलाई विविधिकरण गरी परिकार तयार पारेर संस्थाबाट बिक्री सुरु गरेता पनि हेटौंडा बजारमा भने आजदेखी बिक्री केन्द्रनै सञ्चालन गरिएको अध्यक्ष दाहालले बताए ।
यस बिक्री केन्द्रमा दूध, दही, घ्यु, पनिर, नौनी, मोही, खुवा, छुर्पी समेत खुद्रा तथा थोक मूल्यमा बिक्री सुरु गरिएको सहकारीका व्यवस्थापक शशी लम्सालले बताइन् । हेटौंडा बजारका उपभोक्ताहरूलाई सहज रूपमा दूध र दुग्धजन्य पदार्थ उपलब्ध गराउनका लागि बिक्री केन्द्र सञ्चालनमा ल्याइएको उनले बताईन् । मनकामना नामक ब्राण्डका घ्यु, दहि, पनिर, नौनी, दुध बजारमा सुपथ मुल्यमा उपलब्ध रहने व्यवस्थापक लम्सालले बताईन् ।
बिक्री केन्द्रमा दुध प्रतिलिटर ८५ रुपैयाँ, घ्यु प्रतिलिटर बाह्र सय, पनिर प्रतिकिलो सात सय, नौनी प्रतिकिलो ९ सय र दहि प्रतिलिटर एक सय ४० रुपैयाँ रहेको लम्सालले बताईन् । उक्त उत्पादित वस्तुहरु मकवानपुर सहित काठमाडौं, पोखरा, चितवन लगायत विभिन्न स्थानहरुमा बिक्री हुँदै आइरहेको उनले बताईन् । ३४८ शेयर सदस्य रहेको सहकारीमा उद्योग सहित ११ जना कर्मचारी रहेका व्यवस्थापक लम्सालले बताईन् ।