हेटौंडा \ बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा (तामाङ)ले सहकारी राज्यको अर्थतन्त्रको एक खम्बा बताउनुभएको छ । विहीबार हेटौँडा ८ स्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको पाँचौ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सहकारी क्षेत्र राज्यको तीन खम्बे सरकारी नीति अन्तरगत रहि आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको बताउनुभयो ।
उहाँले समाजको आर्थिक क्रियाकलापमा सहकारी क्षेत्र नजिक रहने हुँदा आर्थिक कमजोरी भएकाहरुलाई उत्पादनसँग जोडिएर आर्थिक वृद्धिमा सहकारी क्षेत्रको अमुल्य योगदान रहने बताउनुभयो । सहकारीले उद्योग सञ्चालन गरी पेन्सन दिने अवधारणा राखी अघि बढेकाले सहकारीको प्रगतिको कामना गर्दै मन्त्री लामाले लगानीलाई योजनावद्ध कार्यान्वयन गरी सहकारीमा रहेका विभिन्न विकृति विसंगती फैलनबाट जोगिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सहकारीको नियमन र अनुगमन स्थानीय सरकार सँगै प्रदेश सरकारले समेत गर्ने भएकाले नीति र विधिमा रहेर सबै सहकारीहरु सञ्चालन हुनुपर्ने बताउनुभयो । पछिल्लो समय सहकारीमा देखिएको विकृतिले समस्या उत्पन्न हुँदै गएको भन्नुभयो । प्रदेश सरकारले समस्याग्रस्त भएका सहकारीहरुको अवस्था बुझ्न र अनुगमन गर्न एक समिति समेत गठन गरी कार्य अघि बढाइसकेको बताउनुभयो । सहकारीले मिटरव्याजीको जस्तो कार्य गरेमा कानुनी दायरा ल्याई कारवाही गरिने भन्दै सहकारी मार्फत नै अर्थतन्त्र चलायमान हुने विश्वास दिलाउनुभयो ।
संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा ७ का अध्यक्ष दामोदर गौतम, संस्थाका सल्लाहकार रघुरमण न्यौपाने, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ, सल्लाहकार रामकृष्ण थापा, हरीप्रसाद वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा संस्थाले सल्लाहकारतर्फ रघुरमण न्यौपाने, वडा अध्यक्ष रामकृष्ण थापा, पुष्पराज थापा, धरम सिंह बोहोरा, रामकृष्ण थापा, मनोहर दाहाल, टीका प्रसाद कंडेल, राधाकृष्ण मैनालीलाई सम्मान गरिएको थियो । त्यस्तै, ऋण उपसमिति सदस्य सुनील कर्माचार्य र संगीता अधिकारी, उत्पादन उपसमिति सदस्य प्रेमनाथ अधिकारी र टीका न्यौपाने, समूह परिचालन उपसमिति शारदा खड्का थापा र कविता केसी, शिक्षा उपसमिति सदस्य दीक्षा रेग्मी, यूवा परिचालन उपसमिति सदस्य एलिस जमरकट्टेल र प्रकाश प्रसाद देवकोटालाई सम्मानित गरिएको थियो ।
सहकारीले आफ्नै मिल उद्योगबाट सर्वोत्तम ब्राण्डका तोरीको तेल, बेसार, फापरको पिठो, ग्रीन टि, बाटे धुप लगायत विभिन्न वस्तुहरु उत्पादन गरी बिक्री गर्दै आइरहेको छ ।