हेटौंडा \ नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघको विधान २०७९ को परिच्छेद २ को धारा ४ को उपधारा (क) बमोजिम लोकतन्त्रवादी चेपाङ संघको तदर्थ समिति गठन गरिएको हो । बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका सन्तको अध्यक्षतामा गठित संघले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघसँग समन्वय गरी ६ महिना भित्र केन्द्रीय कार्यसमिति विस्तार गरेर अधिवेशन गराउन भनिएको छ ।
अध्यक्षमा मनोनित भएसँगै अध्यक्ष सन्तले केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश अध्यक्षसमेत मनोनयन गरेका छन् । मनोनित हुनेमा वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन चेपाङ, उपाध्यक्षमा दिल्लीराज चेपाङ महासचिवमा धादिङका सुरेन्द्र चेपाङ, सचिवमा रबिन्द्रकुमार चेपाङ, कोषाध्यक्षमा धादिङका बिष्णुमाया चेपाङ र बागमती प्रदेश सभापतिमा खेमबहादुर चेपाङ रहेका छन् ।
अति सीमान्तकृत जनजातिको सूचीमा रहेका चेपाङ समुदायको देशका करिब २६ जिल्लामा बसोबास रहेको छ । विशेष गरी मकवानपुर, धादिङ, चितवन, गोरखा र लमजुङमा चेपाङको बाक्लो बसोबास रहेको छ । २०७८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ ।
नेपाल लोकतन्त्रवादी आदिवादी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको मनोनयन कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।