हेटौंडा \ लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर गर्ने भएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एरिया चिफ जेपि यादवले मकवानपुरमा तीन दिन, बारामा २ दिन र सर्लाहीमा एक दिन निशुल्क आँखा शिविर कार्य गर्ने बताएका छन् ।
२० गते शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको स्वास्थ्य चौकी परिसरमा आँखा शिविर गरिने, २१ गते आइतबार बागमती गाउँपालिकाको राईगाउँमा र बारा जिल्लाको ईनरुवामा आँखा शिविर कार्यक्रम गरिने यादवले बताए ।
त्यस्तै, २२ गते सोमबार सर्लाहीको रामनगरमा र मकवानपुरगढीको वडा नम्बर ८ बुढिचौरमा कार्यक्रम रहेको छ । यसैगरी २३ गते मंगलबार बारा जिल्लाको हरिपुरमा र मकवानपुरको पाथिभरामा आँखा शिविर सञ्चालन गरिने चिफ यादवले बताए ।
हेटौंडा सामूदायिक अस्पतालको प्राविधिक सहकार्यमा उक्त शिविर सञ्चालन गरिने जनाइएको छ । शिविर पश्चात अप्रेसन र चश्मा निशुल्क क्लबले नै गर्नुका साथै विमारी कुरुवालाई समेत खानाको व्यवस्था गरिने जनाइएको छ । ‘हाम्रो चार दिनको लक्ष्य भने सोह्र सय जनाको परिक्षण गर्ने हो भने करिब ३ सय जनाको मोतिया विन्दुको अप्रेसन गर्ने सोच छ, चिफ यादवले भने ।’ निशुल्क आँखा परिक्षणका साथै अप्रेसन समेत निशुल्क गर्ने क्लबको तयारी रहेको यादवले बताए ।
दुई दिन तेस्रो डिष्ट्रिक क्याविनेट बैठक
लायन्स क्लब ईन्टरनेशनल अन्तरगत नेपालमा २ वटा एरिया रहनुका साथै १५ वटा डिष्ट्रिक मध्ये ३२५ एस क्षेत्रमा काठमाडौं, मकवानपुर र पर्सा जिल्लामा क्रियाशील रहेका क्लबहरु छन् । यस एरियामा १२१ वटा क्लब आवद्ध रहेको छ जसमा मकवानपुरमा ३१ वटा क्लब रहेको एरिया चिफ यादवले बताए ।
एउटा डिष्ट्रिकले ४ वटा क्याविनेट बैठक र एक वटा कन्भेन्सन गर्दै हरेक कन्भेन्सनले नयाँ डिष्ट्रिकका पदाधिकारी चयन गर्ने प्रचलन अनुरुप जुलाईबाट लागु हुने गरी एक वर्षको अवधिका लागि डिष्ट्रिक गर्भनर बन्नेछन् । हाल वीरगञ्ज निवासी देवकीनन्दन अग्रवाल डिष्ट्रिक गर्भनर रहेका छन् । आज र भोली दुई दिन सञ्चालन हुने क्याविनेट बैठकबाट मकवानपुर निवासी टासी डोल्मा तुम्बाहाम्फे डिष्ट्रिक गर्भनरको रुपमा २०२४को लागि चयन हुने यादवले बताए ।
उक्त बैठकमा मकवानपुरका तीन सय, वीरगञ्जबाट २५०, काठमाडौंबाट करिब दुई सय लायन्सहरुको सहभागिता हुने जनाइएको छ । लायन्सले स्वास्थ्य, शिक्षा, खानेपानीका साथै प्राकृतिक प्रकोपमा परेकालाई सहयोग प्रदान गरि योगदान गर्दै आइरहेको छ । विशेषत आँखाको क्षेत्रमा र विद्यालय निर्माणका साथै शैक्षिक सामाग्रीका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।