हेटौँडा \ हेटौँडा-११ स्थित सहिद स्मारकमा पछिल्लो समयमा मकवानपुर, पर्सा, बारा, रौतहट, चितवनसहित बागमती प्रदेशकोे विभिन्न ठाँउहरुबाट दैनिक मानिसहरु घुम्न आउने गरेको पाईन्छ । विशेष गरि जाडो मौसममा विद्यालयहरुबाट बालबालिकालाई मनोरञ्जन गराउनका लागी विद्यालयले सहिद स्मारकमा बालबालिका लैजाने गरेको छ । हिजोआज सहिद स्मारकमा विद्यालयका बालबालिका मनोरञ्जन लिने, नाँच्ने, गाउने, फोटो खिच्ने र विभिन्न सहिदहरुको बारेमा पुर्ण रुपमा अध्ययन, अनुसन्धान गर्ने र सहिदहरु प्रति श्रद्धा अर्पण गरिरहेको देख्न सकिन्छ । हेटौँडामा रहेको सहिद स्मारकमा विद्यालय संघसंस्थाहरुबाट जाडो महिना भरि पिकनिक, ड्राईपिकनिक र नव जोडीहरु घुम्न जाने गरेको पाईन्छ छ, भने पछिल्लो समयमा फोटो सुट गर्न समेत स्मारकमा जाने गरेको देख्न सकिन्छ ।
विद्यालयले पछिल्लो समयमा बालबालिकालाई पढाईमा मात्र सिमित नगरी बाह्य वातावरणीय ज्ञान, संस्कृति मुल्यमान्यता र परम्परामा समेत जानकार होस भन्ने उद्देश्यले बालबालिकालाई पिकनिक लिएर आउने गरेको छ । धेरै अगाडी देखि बालबालिकालाई कतै घुमाउन लैजाउ भन्ने विद्यालयको उद्देश्य थियो । बालबालिकाले पनि बाह्य ज्ञान सिकोस, मनोरञ्जन र केही नयाँ ज्ञान हासिल होस भनेर यस पिकनिकको आयोजना गरि विद्यालयले हेटौँडाको स्मारक उचित ठाउँ लागेर बालबालिका ल्याएको पर्सा जिल्लाका एक शिक्षकले बताए । विद्यालयबाट कक्षा १ देखि कक्षा ८ सम्मका बालबालिकालाई लिएर बसमा आएको उनले बताए ।
बालबालिकाहरु स्मारकमा खेल्ने, रमाउने, डुल्ने, पिङ खेल्ने इत्यादि गर्छन् । लोभ लाग्दो स्मारकमा बालबालिकाहरु वरपरका सहिदका प्रतिमा नियाल्ने, हरियाली बगैचाका फुलसँग रमाउने, आकर्षक दृश्यावलोकन टावर, चिडियाघर, मदनवाटिका, स्वीमिङपुल आदीसँग रमाएका थिए । हेटौँडाको सहिद स्मारक पहिलो पटक आएको र स्मारक सोचेको भन्दा निकै रमाईलो र यहाँबाट निकै धेरै ज्ञानहरु हसिल भएको पर्सा जिल्लाबाट आएकी आयुषाले बताईन् । कक्षा ७ मा अध्ययनरत आयुषालाई प्राकृतिक सौन्दर्यता धेरै मनपर्ने र प्रकृतिमा पाईने बोटविरुवा, डाँडाकाँडा, खोलानाला,पिङ इत्यादि मनपर्ने बताईन् ।
त्यस्तै हेटौंडा ४ कर्राकी एलिना कोईराला र स-परिवार जाडो मनाउन घर देखी अलि पर कतै जाउ न भन्ने लागेर वरपरका छरछिमेक सहित घरमै बनाएको परिकार बोकी स्मारकमा ड्राईपिकनिक खान र मुडफ्रेस गर्न सहिद स्मारक आएकी बताईन् । ‘कति घरमा बस्नु दिक्क लागेर वरपरका छिमेकी अन्टि र ममि, बुहारी, भदैनी सहित १० जना जति मिलेर घरमै फरक फरक परिकार बनाएर ड्राईफुड पिकनिक आएका हौं,दिनभरी खाने,घुम्ने र रमाइलो गर्छौ अनि घर फर्कन्छौ,’ उनले बताईन् ।
मकवानपुर जिल्लामा प्रख्यात मानिने सहिद स्मारक पर्यटकीय गन्तव्य बनेको छ । माघ महिना लागे सँगै जाडो पनि बढेको छ । जाडोमा विभिन्न विद्यालय र संघसंस्थाबाट सहिद स्मारकमा घुम्न जाने, पिकनिक खाने र फोटो खिच्नेको घुँईचो देख्न सकिन्छ । पछिल्लो समयमा स्मारकमा पनि विकास भए सँगै अहिले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको स्थल बन्न सफल भएको छ । विशेषत सहिद स्मारकमा सार्वजनिक विदा र शनिवारको दिनमा बढि घुँईचो भएको देख्न सकिन्छ । सहिदका बारेमा अध्ययन, अनुसन्धान र खोज गर्न चाहानेका लागी हेटौँडा अनुसन्धान केन्द्रको रुपमा सहिद स्मारकमा सहिद ग्यालरी समेत निर्माण गरिएको छ ।
सहिदका बारेमा अध्ययन गर्न चाहानेलाई सहिदका बारेमा प्रकाशित लेख,रचना,फोटो इत्यादी उपलव्ध छ । पार्कमा स्व. मदन भण्डारी, प्रजातान्त्रिक योद्धा व्यत्तित्व स्व. बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारीको सालिक निर्माण गरिएको छ ।