हेटौंडा \ मकवानपुर र बारा जिल्लाका बासिन्दाबीच आफूले भोगचलन गर्दै आएको जग्गालाई लिएर दुई जिल्लाबीच सीमा विवाद भएको छ । मकवानपुरको बकैया गाउँपालिका–६ र बाराको निजगढ नगरपालिका–१० मा स्थानीय बासिन्दाबीच जिल्ला सीमा विवाद भएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–६ स्थित भालुखोलाका सोभनसिं लोप्चनले नापी नक्सासहित वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा गत बिहीबार सीमाङ्कन गर्ने क्रममा निजगढको लाल क्षेत्रका बासिन्दा, वन कार्यालयका कर्मचारीहरू लगायतले अवरोध सिर्जना गरेपछि सीमा विवाद सार्वजनिक भएको थियो । बकैया गाउँपालिकाका कर्मचारी बलराम घिमिरे सहितको टोली जग्गा रेखाङ्कनका लागि पुगेको थियो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लोप्चनले आफ्नो पुर्जा भएको जग्गासँगै रहेको र भोगचलन गर्दै आएको जग्गामा सीमाङ्कनका लागि किला ठोक्ने क्रममा स्थानीयले अवरोध सिर्जना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पानी ढलोको जग्गा बारा जिल्लाको हुने दाबीसहित स्थानीय बासिन्दा र कर्मचारीहरूले जग्गाको रेखाङ्कन गर्न गएकाहरूलाई काम नै गर्न नदिएर फर्काएका थिए ।
मकवानपुरमा नागरिकता र बकैया गाउँपालिका वडा नं. ६ मा मतदाता नामावली भएका लोप्चनले मकवानपुर जिल्लातर्फ अभिलेख भएको जग्गा वि.सं. २०२२ देखि भोगचलन गर्दै आउनुभएको थियो ।
विगतमा मकवानपुरको मालपोत र नापी कार्यालयमा जग्गाको अभिलेख रहेको, मकवानपुरको बासिन्दा र मतदाता नामावलीसमेत मकवानपुरमा रहेकाहरूको जग्गा पछिल्लो समय पानी ढलोजति बारामा पर्ने नाममा स्थानीयलाई आफ्नो सम्पत्तिबाट वञ्चित गर्नु उचित नभएको पालिका अध्यक्ष लामिछानेको भनाइ छ ।
पहिलेको नक्सामा उक्त जग्गा मकवानपुरतर्फ पर्छ तर, पानी ढलोलाई आधार बनाएर आफ्नो जग्गा नापनक्सा गर्न रोक लगाउनु ठीक होइन, वार्ताबाट समस्या समाधान गरिनुपर्छ, अध्यक्ष लामिछानेले भन्नुभयो ।
लोप्चनको नाममा रहेको र भोगचलन गर्दै आएको विषयलाई लिएर सीमा विवाद उत्पन्न भएपछि दुवै पालिकाका जनप्रतिनिधिहरू समस्या समाधानमा लागेका छन् । मकवानपुर र बाराको सीमा भालुखो लामा शनिबार दुवै पालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्थनीय बासिन्दासहित भएको छलफलमा हाललाई पहिले कै अवस्थामा भोगचलन गर्न दिने सहमति भएको छ ।
बकैया गाउँपालिका अध्यक्ष लामिछानेले यथार्थ सिमाना टुङ्गो नलागे सम्म यथास्थितिमा भोगचलन गर्ने र विवाद नगर्ने सहमति दुवै पालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच सहमति भएको बताउनुभयो । सरकारी स्तर मा नापनक्सा भएर मकवानपुर तर्फबाट बारातर्फको पानी ढलोको जग्गाको मकवानपुरको नक्सा र अभिलेखमा लगत कट्टा नभएसम्म पहिले कै अवस्थामा भोगचलन गर्ने सहमति भएको छ, उहाँले भन्नुभयो , अहिले लोप्चनकै नाममा गाउँपालिकाका कर्मचारीले नापनक्सा गर्नेछन् ।
छलफलमा बकैया गाउँपालिकाका अध्यक्ष लामिछाने सहित उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नं. ६ का वडाध्यक्ष फूलमान भोम्जन, निजगढ नगर पालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, वडा नं. १० का वडाध्यक्ष आशाकाजी श्रेष्ठ, दुवै पालिकाका राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।
मकवानपुरमा नागरिकता र मतदाता नामावली रहेको, वर्षौंदेखि बसोबास गर्दै आएको र बारातर्फ अपायक पर्ने भन्दै स्थानीयले भोगचलन गर्दै आएको जग्गा लगत कट्टा गरी बारा जिल्लाको अभिलेखमा स्थानान्तरण गर्ने विषयमा बिमति जनाउँदै आएका छन् ।-गोरखापत्र दैनिकबाट