बकैया \ बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालयले आवश्यक उद्योग र भूमि सम्बन्धी नीति बनाउँदै गरेको बताउनुभएको छ । विहीबार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ स्थित बकैया कृषि उद्योग ग्रामको निर्माणधिन भवनको अवलोकन पश्चात सम्बोधन गर्नुहुँदै उहाँले उद्योग नीति निर्माण पश्चात प्रदेशभित्रका उद्योग निर्माणका साथै सञ्चालनमा सहजता हुने बताउनुभयो ।
उहाँले प्रदेश सरकार साधन र स्रोतले सिमित अवस्थामा रहेको हुँदा जे छ सोही अनुरुप अघि बढिरहेको बताउँदै औद्योगिक क्षेत्रमा कुल ग्राहस्र्थमा हामी पछाडी छौं, अब प्राथमिकताका साथ अघि बढ्ने छौंः मन्त्री चित्रकारले भन्नुभयो । सरकार भूमि बैंक निर्माणको अन्तिम चरणमा छ, केही स्थानीय तहले गरेता पनि कार्यान्वयनमा समस्या आइरहेकोले आवश्यक नीति बनाएर हामी लाग्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाले कृषि उद्योग ग्राम निर्माणको अन्तिम चरणमा रहेकोले आगामी आवमा आवश्यक बजेट विनियोजन मन्त्रालयले गर्ने प्रतिवद्धता दिनुहुँदै उद्योग ग्राममा हुने दाना उत्पादनका साथै साइलेस उत्पादनले किसानको लागत मुल्यमा कम हुने बताउनुभयो । रोजगार नै विकासको जग हो, यसलाई स्थापित गर्न आवश्यक छ, सोही अनुरुप विभिन्न उद्योगहरु सञ्चालन गरिनुपर्ने बताउनुभयो ।
धेरै अधिकार संघमा रहेकाले प्रदेश सरकारसँग अधिकार नभएकोले पनि हामीलाई केही समस्या रहेको छ । बन्द रहेका उद्योग हामी मातहत वा हाम्रो अधिकारमा नरहेकाले आवश्यक प्रक्रिया अगाडी बढाउन नसकेको मन्त्री चित्रकारले बताउनुभयो ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाले गरेको मुख्य उपलब्धी तथा कार्यहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले कृषिको प्रचुर सम्भावना रहेको बकैयामा कृषि सँगै पशुपालन, मौरी पालन, फलफुल जस्ता पकेट क्षेत्र बनाई काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडा ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा, उद्योग व्यवसायी तुलसीराम लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतले आफ्नो भनाई राखेका थिए ।