हेटौँडा \ मकवानपुरको पुरानामध्येको एक भुटनदेवी माध्यमिक विद्यालयले नक्साबिनै व्यावसायिक भवन निर्माण गरेर भाडामा लगाउँदै आएको पाइएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविले नक्साबिनै व्यावसायिक भवन बनाएर वर्षौँदेखि विद्यालयको आयआर्जनका लागि भन्दै भाडा उठाउँदै आएको हो ।
२०६० सालदेखि नै भवन निर्माण गरी भाडामा लगाउँदै आएको विद्यालयले पछिल्लो पटक व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भदौबाट भाडामा लगाइएको ४१ वटा सटर समेत हेटौँडा उपमहानगरपालिकाबाट नक्सा स्वीकृतिबिनै बनेको छ । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले सुरुदेखि नै व्यावसायिक भवनको नक्सा नबनाइएको स्वीकार गर्दै नक्सा बनाउने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
“सुरुमा व्यावसायिक प्रयो जनका लागि भाडामा दिने सीमित कोठा निर्माण गरिएको थियो, नक्सा आवश्यक ठानिएन, पछिल्लो पटक अस्थायी टहरो मात्र बनाउने भन्दै नक्सा बनाएर स्वीकृत गर्नेतर्फ लागिएन,” उहाँले भन्नुभयो , “अहिले विषय उठान भएको छ, अब नक्सा बनाउने प्रक्रियामा छौ ँ । नक्सा स्वीकृतिका लागि उपमहानगरपालिकामा बुझाएका छौँ, स्वीकृत भइहाल्छ, अहिले लाई समस्या नहोला ।”
भवन बनाउनुपूर्व नक्सा बनाएर उपमहानगरपालिकाबाट स्वीकृत लिएपछि मात्र भवन बनाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यालयले मात्र हो इन, उपमहानगरपालिकाले समेत नक्सा बनाउन चासो नदिएको देखिन्छ । त्यसो त विद्यालयको जग्गामा व्यावसायिक प्रयोजनका लागि भवन बनाएर भाडामा लगाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे तामाङ आफैँ हेटौँडा उपमहानगरपालिका–१० का वडाध्यक्षसमेत हुनुहुन्छ ।
तामाङले व्यावसायिक भवनबाट आउने भाडाबापतको आम्दानीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम भइरहेको दाबी गर्नुभएको छ । तामाङले भाडामा लगाइएको ७३ वटै सटर भवनको नक्सा पास उपमहानगरपालिकाबाट नभएको र अब प्रक्रियामा जाने बताउनुभयो ।
विद्यालयले पहिले निर्माण गरी ३० र हालै निर्माण गरी ४३ वटा सटर भाडामा लगाएको छ । विद्यालयको पूर्वतर्फ पारिजातपथ र पश्चिमतर्फ भैरवरोडमा व्यावसायिक प्रयोजनका लागि सटर निर्माण गरी भाडामा लगाएपनि विद्यालयले दुवै तर्फ भाडामा बस्ने र आउने ग्राहकका लागि सवारीसाधन राख्ने प्रयोजनका लागि पार्किङको व्यवस्थासमेत गरेको छैन ।
प्रअ दाहालले पार्किङको व्यवस्था नगरेको भन्दै पूर्वतर्फ हालै निर्माण भएका सटर अगाडि पार्किङका लागि केही जग्गा छाडेको तर्क गर्नुभयो । यसअघि भाडासम्बन्धी कार्यविधिबिना नै कोठा भाडामा लगाउँदै आएकोमा पछिल्लो पटक बनेका सटर कार्यविधिअनुसार टेन्डर प्रक्रियाबाट भाडामा लगाएको बताउँदै उहाँले विद्यालयलाई भाडाबापत मासिक तीन लाख ८९ हजार रुपियाँ आम्दानी हुने जानकारी दिनुभयो । यसै बीच विद्यालयको सटर भाडाको विषयलाई लिएर हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्दे लमाथि कार्यकक्षमा नै हातपातसमेत भएको थियो । -गोरखापत्र दैनिकबाट