हेटौंडा \ हेटौंडा-११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले रजत जयन्ती मनाउने भएको छ । २०५५ सालमा स्थापना भएको विद्यालयले शनिबार विद्यालयको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी रजत जयन्तीका अवसरमा हुने सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो । माघ २९ गतेबाट कार्यक्रम शुरु भई फागुन ६ गते सप्ताहव्यापी कार्यक्रमको समापन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ २९ गते शोभा यात्रा हुनेछ ।
सांस्कृतिक झाँकी, स्काउट समूह सहित हुप्राचौरबाट शुरु भइ पारिजात पथ, स्कूलरोड, सीमाचोक, बुद्धचोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिको प्राङ्गणमा आइ समापन हुने छ । उक्त कार्यक्रमको संयोजन मोहन लामा रहेका छन् । फागुन १ गते माधवराज सुमार्गी स्मृति मावि स्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक एवम् यू १९ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाको प्रमुख आतिथ्यतामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिने छ । क्रिकेट प्रतियोगिताको संयोजन रविन पौडेल रहेका छन् । नेपाल क्रिकेट संघ र मकवानपुर क्रिकेट संघसँगको सहकार्यमा हेटौंडा एकेडेमीले एचए क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने सुमार्गीले बताए ।
सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन फागुन २ गते रुपचन्द्र विष्ट ‘थाहा’ स्मृति अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता हुनेछ । सुदर्शन ढकालले संयोजन गर्ने हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ । फागुन २ गतेदेखि फागुन ६ गतेसम्म विद्यालयको प्राङ्गणमा पुस्तक प्रदर्शनी हुनेछ । पुस्तक प्रदर्शनीको संयोजन समिर ढकाल रहेका छन् ।
सप्ताहव्यापी कार्यक्रमको चौथो दिन फागुन ३ गते हेटौंडा एकेडेमी सिङ्गिङ स्टार प्रतियोगिता हुने भएको छ । यो कार्यक्रमको संयोजन होस्टल वार्डेन पेम्बा लामा रहेका छन् । यसैगरी फागुन ४ गते हेटौंडा एकेडेमी डान्सीङ आइडल, फागुन ५ गते वृहत कवि सम्मेलन हुने छ । फागुन ६ गते वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा रजय जयन्ती स्मारिका विमोचान गर्नुकासाथै सम्मान कार्यक्रम, पुरस्कार वितरण तथा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन हुने छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमाल, प्राचार्य गौरीदेवी चिमरिया, व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गीलगायतको आतिथ्यता रहेको थियो ।