मकवानपुरगढी \ उमेर २५ वर्ष पुगेका थिए माधव ढुङ्गाना । ६ महिना अघि वैदेशिक रोजगारको शिलशीलामा मेनपावर मार्फत पुगेका थिए मलेसिया । एक साता अघि खाना खाएर सुतेकै ठाउँमा उनको निधनको खबरले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५का तल्लो बुङ्दल, सिमलटार, स्याउली बजार, कालिवन हुँदै धादिङसम्म बस्तीहरुमा रुवावासीले कोलाहाल भयो ।
हुन् त गाउँठाउँमा पहिलो पटक यस्तो घटना भएर पनि होला उनको निधनको खबरले सबैको मनमा चिसो पस्नुका साथै पीडाबोध भएको स्थानीयहरु सुनाउँछन् । मलेसियामा पोष्ट मार्टम पश्चात हृदयघातको रिपोर्ट सहित माधवको शव बाकसमा शनिबार विहान करिब ४/५ बजेको समयमा गाउँमा ल्याइपुराए । गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दहालकै पहलमा एक सातामै शव घर ल्याउन सकिएको हो । उनी आफै त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल पुगी माधवका सरोदर भाई मदन ढुङ्गानालाई साथमा केही आफन्तहरुका साथ शव रिसिभ गरेका थिए र रातीको १ बजे नै गाउँ ल्याईको थियो ।
गाउँ समाजमा पहिलो पटक भएकोले हामीमा बढी मात्रामा दुःख पीडाबोध भइरहेको वडाध्यक्ष दहाल सुनाउँछन् । म मात्र नभई तरुण दल वडा समितिका साथै सेवा दल मकवानपुरगढी ५ को सक्रियतामा हामीले छिट्टै पार्थिव शरिर ल्याउन सक्यौं, वडाध्यक्ष दहालले भने । आर्थिक पक्ष कमजोर रहेकाले पनि शव ल्याउन र परिवारलाई आर्थिक सहायता रहोस् भन्ने उद्देश्यले आर्थिक संकलन अभियान समेत गरेका थियौं वडाध्यक्ष बताए ।
पहिलो पटक गाउँमा यसरी विदेशबाट शव आएको घटनाले गाउँबासीनै शोकमा परेको छ । बालबालिका, महिला देखी वयोबृद्ध सम्मले विहान माधवको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्नेको भीडले पनि गाउँ शोकमय देखिन्छ । वडाको तल्लो बुङ्दल, आँपडाँडा क्षेत्रमा बसोबास गर्दै आएका छन् ढुङ्गाना परिवार । करिब २ वर्ष अघि प्रेम विवाह गरेका माधव आफ्नो, परिवारको र बाआमाको सपना बुनेर ६ महिना अघि मलेसिया उडेका थिए ।
दुई छोरा थिए, मेरेको भन्ने विश्वास गरेको पनि थिएन् साच्चै वितेको रहेछ, रुँदै बुबा विष्णुप्रसादले भने । जेठो छोरा, घरको सबै जिम्मेवारी थियो उतै वितेर शव आयो, म अब कसरी बाच्नु, बुबा विष्णुप्रसादले भने । निधनको खबरले आमा कमला ढुङ्गाना, श्रीमती रेजिना श्रेष्ठ बेहोस हुन पुगेका समेत थिए । अचेत अवस्थामा भएपनि आमाले छोरा र श्रीमतीले आफ्नो श्रीमान्को मुख हेरिरहँदा उपस्थिती भएका कयौं महिला तथा स्थानीयहरुको रुवाबासी चलेको थियो । माधवका तीन दिदी, एक जना भाई रहेका छन् ।