हेटौंडा \ हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालित सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले हात पारेको छ । शनिबार प्रतियोगिताको छैटौं संस्करणको उपाधिलाई विभागीय टोली नेपाल एपीएफ क्लब र एनआरटी बीच भएको थियो ।
निर्धारित समयमा गोल गर्न नसकेपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । पेलान्टी सुट आउटमा एनआरटीका तर्फबाट जय गुरुङ, गोल रक्षक प्रिसो, विकेक गुरुङले गोल गर्न सफल भए भने सरोज तामाङ र अभिशेक लिम्बले प्रहार गरेको बल बाहिर पुगेको थियो । त्यस्तै, एपीएफका तर्फबाट एनि सेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गर्न सफल भएभने बुद्धीमान राई र दीपेश धिमालले गरेको प्रहार रोक्नुका साथै क्रसबारमा ठोकिएर बाहिर पुगेको थियो ।
पेलान्टी सुट आउटमा बराबारी गोल अंक भएपछि खेल सडनडेथमा पुगेको थियो । सोही क्रममा एनआरटीको तर्फबाट मोहित गुरुङले गोल गर्न सफल भए भने रन्दिप पौडेलले प्रहार गरेका बल एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्न सफल भए । एपीएफको तर्फबाट भने टिम क्याप्टेन मणि लामा र फोडे फोफानाले एक÷एक गोल गर्दै उपाधि जित्न सफल भएको छ । खेलको म्यान अफ म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए ।
पेलान्टी सुटआउटमा एनआरटीलाई ४-५ गोल अन्तरले नेपाल सशस्त्र प्रहरी(एपीएफ) क्लबले उपाधि हात पारेको हो । उपाधि सँगै एपीएफले रुपैयाँ १५ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता बनेको (न्यूरोड) एनआरटीले रुपैयाँ १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि आर्मीले दुई, थ्रीस्टार, मनाङ मस्र्याङ्दी क्लब र आयोजक मकवानपुर जिल्ला फुटबल संघले १–१ पटक उपाधि जितेको छ ।
कार्यक्रममा विधागत रुपमा खेलाडी, प्रशिक्षकहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा एपीएफका एञ्जल श्रेष्ठ, उत्कृष्ट डिफेन्डरमा एपीएफका कुलदीप कार्की, उत्कृष्ट मिल्ड फिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट फरवार्डमा एनआरटीका जोन क्लोरी घोषित भएका छन् । उनीहरुले जनही २० हजार नगद सहित ट्रफि प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा भने एपीएफका सुमन श्रेष्ठ बनेका छन् । प्रतियोगिताभर सर्वाधिक गोलकर्ताको रुपमा रहेका एपीएफका अनिश महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्व. पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सौजन्य गरेको रोयल बुलेट बाइक प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतमा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिती रहेको थियो ।