हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचार सुक्ष्मता तिरवाट स्थुलता तिर अघि बढिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोगको हेटौंडा स्थित कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रकृयाको शिलशिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पारेको बताउनुभएको छ ।
राज्यको अर्थतन्त्र निर्माणमा आफ्नो योगदानबारे नागरिक अनविज्ञता तथा उदासिनता भ्रष्टाचार प्रवर्धनको कारक तत्व रहेको बताउँदै राजस्व अपचलन गर्नेको सम्मान र संरक्षण गर्नेको अपमान हुने परिपाटि रहेसम्म भ्रष्टाचार रहिरहने उहाँले बताउनुभयो । ‘समुद्रको माछाले कहिले र कति पानी खायो भन्ने प्रश्नको जवाफ जति जटील र कठिन छ एउटा भ्रष्टाचारीले जागिरे जीवनकालमा राज्यकोषको कति हिनामिना गर्याे भन्ने विषय त्यतिनै जटिल छ, प्रमुख शर्माले भन्नुभयो ।’
भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रवर्धन र आर्थिक समृद्धि मार्फत राज्यको पहिचान र प्रतिष्ठालाई नेपाली समुदाय बीचमा मात्र नभै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राजनीतिक दल, सरकार, सरकारी संयन्त्र एवं आम नागरिकको समेत महत्वपूर्ण भूमिका हुनुपर्नेमा उहाँको जोड रहेको छ । जनउत्तरदायी शासकीय अभ्यासले मात्र समग्र राष्ट्र उत्थानमा गति दिन सकिने उहाँले बताउनुभयो ।
राजनीतिक, आर्थिक, सामाजिक लगायतका समग्र पक्षहरुमा हुनसक्ने सम्भावित वेथिति र विचलनहरुलाई समुल नष्ट जगरे सम्म न्याय, समानता र सुशासनको सिद्धान्त स्थापित, सवल र सुचारु हुन नसक्ने प्रमुख शर्माले भन्नुभयो । दण्ड सजाय गर्नसके सुशासन कायम हुने बताउँदै उजुरीहरुको छानविन र अभियोजनमा आयोगले निपष्क्षता र तटस्थतालाई मुल मन्त्र मानेर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामा, प्रदेश प्रहरी प्रमुख विष्णु कुमार केसी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यालयले माध्यामिक तह स्तरीय निबन्ध प्रतियोगिता समेत गरेको थियो । प्रतियोगितामा एक सय ९१ ज्ना विद्यार्थीहरुले सहभागिता जनाउनुभएको थियो । प्रतियोगितामा प्रथम श्री फुल्पिङकोट माध्यामिक विद्यालय सिन्धुपाल्चोककी राधिका विश्वकर्मा, द्धितीय रोजवर्ड मावि काठमाडौंकी समज्ञा सापकोटा र तृतीय वाल्मिकी शिक्षा सदन मावि चितवनकी प्रार्थना बेलवासे हुनुभएको थियो । उहाँहरुले क्रमशः १५ हजार, १२ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा कार्यालयले फुटसल, व्याडमिन्टन, चेस र टेबुलटेनिस प्रतियोगिता गरी विजेताहरुलाई पुरस्कृत समेत गरीएको थियो । यसैगरी उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा कार्यालय प्रमुख उमाकान्त आचार्यले कार्यालयमा भएका कामकारवाहीबारे जानकारी गराउनुभएको थियो ।