हेटौंडा \ संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भूसालले स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसको एक समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भूसालले देशको आर्थिक वृद्धि गर्ने हो भने यसको प्रमुख आधार भनेकै कृषि र पशुपालन भएकाले ठोस योजना बनाएर स्थानीय सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
तीन तहकै सरकारको सहकार्य र समन्वयमा कृषि क्षेत्रको विकास र विस्तारमा फड्को मार्न सकिने बताउँदै कृषि र पशुपालनमा व्यवसायिक प्रगति हुने बताउनुभयो । उहाँले कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।
हेटौंडामा रहेको मस्त्य विकासलाई थप व्यवस्थित बनाई उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताउँदै कृषिमा हाम्रो आवश्यकता प्राप्तिका लागि धान उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अन्य क्षेत्रमा प्रतिस्पर्धा रहेता पनि कृषि क्षेत्रमा प्रतिस्पर्धा नहुने बताउँदै मन्त्री भूसालले यस वर्ष पहिला भन्दा तीन प्रतिशत भन्दा बढी धान उत्पादन गर्न सफल भएको बताउनुभयो ।
हामीले आयात भन्दा पनि उत्पादनमा ध्यान दिन सके देशको अर्थतन्त्र बलियो बन्ने भन्दै किनेर खाने मात्रै कुरा उत्पादन गर्न सके देशको आर्थिक पक्ष बलियो हुने बताउनुभयो । कृषि क्षेत्रको समग्र विकासले किसानको आर्थिक सुधार हुनुका साथै खाद्यान्नमा आत्मनिर्भर हुनेमा विश्वास लिएको बताउनुभयो । मल, औजारिकरण, आधुनिकिरण रुपमा कृषि क्षेत्रलाई अघि बढाउन तीन तहकै सरकारको सहकार्य अनिवार्य रहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विधामा कलाकार, पत्रकार, खेलाडी, कृषक, उद्यमी, करदाता, सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी, टोलविकास संस्था, बाल समूह, जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।