‘जेठीले कहिले एसएलसी सक्ली र जागिर खाली,’ अभावले गाँजिरहेको बेला सुजित बिडारीकी आमा रुँदै भन्थिन्, ‘घर धान्न भरोसा यसैको त छ ।’
सबै कुरा ठम्याउने उमेर त थिएन सुजितको । तैपनि उनले आमाको दुःखलाई नजिकबाट भोगे । घरमा बलियो आयस्रोत थिएन । खान लाउन पनि धौ-धौ पर्ने अवस्थामा स्कुुल पढ्दै गरेकी जेठी दिदीको भरथेग हुुन्थ्यो । दिदी मेला जान्थिन्, स्कुुलबाहेकको समयमा काम गर्थिन् र भाइबहिनीका लागि खर्च जुुटाउँथिन् । संघर्ष गरेर भए पनि भाइ बहिनीको अनुहार कहिल्यै मलिन बनाइनन् दिदीले ।
सुजितका बा हरेक दिन रक्सी पिएर आउँथे र शान्त वातावरणलाई नमीठो गरी खलबल्याउँथे । पिउने लतकै कारण बाले आमा र दिदीलाई सधैँ आजित बनाइरहे । सुजित जन्मनुअघि बा गाडी दुुर्घटनाबाट गम्भीर घाइते भएका थिए । २२ दिन आईसीयूमा राखेर डाक्टरहरूले बचाएका थिए बालाई । ‘त्यसपछि उहाँको मानसिक समस्या सुरु भयो । अनि रक्सी खान थाल्नुुभयो,’ सुजित सम्झन्छन् । गाडी दुर्घटनामै परेर केही वर्षअघि बाले प्राण त्यागे । बा बाँचुञ्जेल सुजितले उनको माया महसुस गर्न भने पाएनन् ।
घरको जिम्मेवारी जेठी दिदीको काँधमा थियो । दिदीले एसएलसी पास गरेको दिन घरमा खुसी विछट्टै थियो । एसएलसीपश्चात् दिदीले मासिक १४ सय तलबमा स्कुल पढाउन थालिन् । घर खर्च मात्र हैन, सुजितको पढाइ र रहर धान्ने पनि त्यही पैसा हुन्थ्यो ।
कक्षा ११ पढ्दै गर्दा सुजित एउटा विषयमा फेल भए । ‘यति दुुःख गरेर तँलाई पढाइरहेकी छु । किन नपढेको ?’ जवाफमा उनले दिदीलाई बिझाउने गरी भने, ‘मैले जबर्जस्ती पढा भनेको हुुँ र ? नपढा न त, पढ्दिनँ ।’
सुजितकोे जवाफले दिदी र आमा रुनसम्म रोए । बिस्तारै घरको भरोसा बन्दै थिए सुजित । ‘उसैले यस्तो भनेपछि कसको आशा राख्नु,’ दिदी र आमाले रुँदै भने ।
त्यो कुराले सुजितलाई निकै दिनसम्म पछुतो भइरह्यो ।
२०७२ सालमा नेपालमा ठूूलो भूूकम्प गयो । थुप्रै घर लडे, थुप्रै मानिसले ज्यान गुुमाए । भूकम्पपश्चात् बिस्तारै उठ्ने प्रयास गरिरहेको नेपाली समाजलाई सुजितले गहिरिएर नियाले । सोचे, ‘हामीसँग यति धेरै कथा छन् । अब मैले फिल्म बनाउनुपर्छ ।’
फिल्मसम्बन्धी पढाइ हुुने अस्कर कलेजबाट ग्र्याजुएट भएपछि सुजित नेपाली फिल्म बनाउने धुनमा थिए । तर, कथाहरू भित्रसम्म गढेका थिएनन् । एक दिन एउटा कथा मस्तिष्कमा झुल्कियो । कथामा उनले बाल्यकालका दृश्यहरू देखे । बिस्तारै एउटी किशोरी, उनको पियक्कड बा, संघर्ष गरिरहेकी आमा र हुर्कंदै गरेको सानो भाइ कथामा देखा परे । उनले स्क्रिप्ट तयार पारे । त्यही कथामाथि बनेको फिल्म ‘ऐना झ्यालको पुुतली’ आगामी २४ भदौमा प्रदर्शन हुँदैछ । पढ्नका लागि सङ्घर्ष गरिरहेकी किशोरी र दिदीभाइको भावनात्मक सम्बन्धमाथि सुजितले फिल्म बनाएका छन् ।
‘ऐनाझ्यालको पुुतली’ उनीभित्र गढिरहेको संस्मरण हो । कथामाथिको जरो खोतल्दै जाँदा सुजित उही बाल्यकातिरै फर्कन्छन् । ‘फर्केर हेर्दा दिदीलाई के दिन सकेँ थाहा छैन, तर यो फिल्म उहाँकै लागि हो,’ उनी भावुक हुन्छन् ।
फिल्म बनाउँदा दिदीसँग जोडिएका संस्मरणले सुजितका आँखा भरिएका थिए । ‘दिदीको बिहे गर्ने बेला आयो । आम्दानीको बाटो त्यसपछि ठप्प हुने भयो । तर, दिदीले भन्नुभयो– म गए पनि परिवारप्रतिको दायित्व भुल्दिनँ,' सुजित सम्झन्छन् ।
नभन्दै बिहेपश्चात् पनि दिदीले त्यो जिम्मेवारी पूरा गरिन् ।
ठेक्कापट्टा छाडेर फिल्मको पढाइ
मकवानपुरको हेटौँडामा चरम अभावबाट हुर्किएका सुजितलाई सपना भनेकै पैसा कमाउनुु थियो । ‘पैसा कमाउन के गर्नुपर्छ ?’ सोच्दासोच्दै एक दिन उनले घरछेवैको ठेकेदार काकालाई सम्झे । ‘उहाँ ठेक्कापट्टाबाट राम्रो पैसा कमाउनुहुन्थ्यो । प्लस टुुपछि म पनि उहाँकै पछि लागेँ,’ उनी सम्झन्छन् ।
ठेक्कापट्टामा मनग्गे पैसा थियो । तर, माघको ठन्डीमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म छिनोले ढलान फोरिरहने मजदुुर देख्दा उनलाई चसक्क बिझ्थ्यो । त्यसरी दुःख गर्नेहरूलाई पैसा अत्यन्तै कम । उनी भावुक हुुन्थे र माया दर्शाउँथे । ‘तँ ठेक्कापट्टा गर्न बसेको कि मजदुरहरूलाई माया गर्न ?,’ काकाले गाली गर्थे ।
माघे संक्रान्तिको अघिल्लो दिन थियो । काम गरेको महिना मरेकाले मजदुरहरूले पैसा मागे । सुुजितले काकालाई गएर भने, ‘चाड आयो । महिना पनि मर्यो । पैसा मागिरहेका छन् ।’ तर, काकाले उल्टै हप्काएर पठाए, ‘भन्नेबित्तिकै पैसा हुुन्छ ? छैन भन्दे । गाली गर् ।’
उनले निरीह बन्दै मजदुरहरूलाई त्यही सुनाए । तर, उनीहरू आशालाग्दो अनुुहार बनाउँदै बसिरहे । ‘मैले बाध्य भएर उहाँहरूलाई गाली गरेँ,’ सुजित सम्झन्छन् ।
मजदुरलाई गाली गरेको साँझ सुजित आफैँ धरधरी रोए । उनलाई लाग्यो- मैले यसो गर्नै हुन्थेन । झण्डै चार वर्ष ठेक्कापट्टाको काम गरेपछि उनलाई लाग्यो- यो त मेरो पेसा नै रहेनछ ।
अनि काम छाडेर उनी घरतिरै बस्न थाले । बिहानै उठेर क्यारिमबोर्ड खेल्न जानुु, साँझ खाना खान मात्र फर्कनुु । केही महिना यसैगरी चल्यो । एक दिन त खाना खाने बेला आमाको अघि भक्कानिए, ‘मैले जिन्दगीमा केही गर्न सकिनँ आमा ।’ छोरालाई आँट दिनुभयो । आमाले पनि रुँदै सम्झाइन् ।
०६३ सालतिर उनले टेलिभिजनमा अमिताभ बच्चनले खेलेको विज्ञापन देखे । विज्ञापन हेर्दै गर्दा सुजितलाई लाग्यो, ‘यत्तिको त नेपालमै पनि बनाउन सकिन्छ ।’ कक्षा ११ मा पढ्दा उनले एउटा डिजाइन गरेर सरको मन जितेका थिए । लगत्तै टेलिभिजनमा अर्को विज्ञापन देखे, ‘काठमाडौँमा प्रोफेसनल एड्भरटाइजिङ तालिम सुरु ।’
विदेश जाने लहड थियो त्यतिबेला । सुजितले आमालाई विदेश जानका लागि इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षा दिन काठमाडौँ जाने भन्दै पैसा मागे । ‘आमाले खेत बेचेर पैसा दिनुुभयो । अनि म आईईएलटीएसको बहानामा काठमाडौँ आएर एड बनाउने तालिम लिएँ,’ सुजित सम्झन्छन् ।
उनी काठमाडौँ आएर तालिम लिन थाले । तर, भिडियो बनाउने मोह त्यहाँ पूूरा हुन सकेन । एक दिन उनले अस्कर कलेजको नाम सुने, ‘जहाँ विज्ञापनको भिडियो बनाउन सिकाइन्छ ।’ त्यसपछि केही नसोची उनी अस्कर कलेजमा भर्ना भए । कलेजले उनको सोचाइ बदल्यो, अझ भनौँ– जीवन नै बदल्यो ।
त्यतिबेलासम्म फिल्मप्रति कुनै ‘प्यासन’ थिएन सुजितमा । जब पहिलो दिन उनी कक्षामा बसे, फिल्मबारे पढाइ भइरहेको थियो । ‘त्यो कक्षामा म यति आकर्षित भएछु कि त्यस दिनदेखि फिल्मप्रतिको लगाव एकाएक बढ्यो,’ उनी सुनाउँछन् ।
त्यसपछि उनले फिल्महरू हेर्न थाले । साथी सर्कल नै सिनेमाकेन्द्रित बन्यो । बिहानदेखि बेलुुकासम्म भेटिने मान्छेदेखि गरिने कुरासम्मै फिल्मका हुन थाले । त्यही सर्कल र संगतले फिल्मप्रतिको अभिरुचि गहिरो गरी बस्यो ।
खेत बेचेर खातामा राखेको पैसा दिनप्रतिदिन घट्दो थियो । कलेज शुल्क, डेरा भाडा वा दैनिक खर्चले खाता रित्तिँदै थियो । अलिअलि फिल्मका कामहरू आउँथे, तर त्यतिले दैनिकी धान्न कहाँ सकिन्थ्यो र ? कति दिन भोकभोकै हिँड्नुपरेको थियो सुजितलाई । ‘छेउछाउको पसलमा सबै उधारो हुन्थ्यो, माग्न जान सकिन्न थियो । आफन्तहरू भेट्न आउँदा लैजानुपर्छ भनेर भागीभागी हिँड्थेँ,’ उनी सम्झन्छन् ।
एकपल्ट पैसा सबै सकियो । कति दिनदेखिको भोको पेट । केही किनेर खानलाई पैसा छैन । उनी पेटमा हात राखेर भोकभोकै सुते । सपना देखे- किचन र्याकमाथि प्लास्टिकभित्र मकै थियो । उनी त्यो झिकेर चपाइरहेछन् । झल्यास्स बिउँझे । आशा जाग्यो, ‘साँच्चै पो छ कि ।’ उनले र्याकमाथि खोजे । तर, कुुनै पोको भेटिएन । ‘त्यो अभावमा पनि मलाई एउटै कुरा थियो, मैले फिल्म बनाउनुपर्छ,’ सुजित सुनाउँछन् ।
कलेजमा केही छुट पाएका थिए । तैपनि पूरा पैसा बुुझाउन हम्मेहम्मे भयो उनलाई । अन्तिम परीक्षाको समय थियो । तर, सुजितले शुल्क बुुझाएका थिएनन् । उनले प्रिन्सिपल विनोद पौडेलसँग आग्रह गरे । धन्न, परीक्षा दिन पाए । ‘१० वर्ष बित्यो, बाँकी पैसा त अझै पनि तिर्न बाँकी नै छ,’ सुजित सुनाउँछन् ।
ऋणमा बनेको फिल्म
‘आफ्नै कथालाई फ्ल्यासब्याकमा हेरौँ न त’ भन्दै सुजितले स्क्रिप्ट लेखे । साथीभाइलाई सुनाए । कथा सुनेपछि साथीभाइले उक्साए, ‘यो निकै राम्रो बनेको छ ।’
अनि सुजित फिल्म बनाउन हौसिए । सुटिङका लागि पहाडी क्षेत्र भूूकम्पले ध्वस्त थियो । लोकेसन खोज्दाखोज्दै संखुुवासभामा गएर आँखा अडियो । सुजितलाई बाल्यकालको कथा भन्नु थियो । त्यसका लागि संखुुवासभामै ननएक्टरहरूको खोजी गरे । खोजी गर्दै अडिसनमार्फत भेट्टाए लक्ष्मी चिमौरिया (विद्या), दिने खत्री (वसन्त), क्षितिज लिम्बू (मिलन), उमेश श्रेष्ठ (बाङ्गे) र विशा राई (मितिनी) लगायतका बाल कलाकार । ‘हामीले बनाएको इमेजअनुसारको कलाकार चाहिएको थियो । त्यसको खोजी गर्न समय लाग्यो । पछि भेट्टायौँ । अनि वर्कसप गरायौँ,’ दिनेश सम्झन्छन् ।
सिरु विष्ट आमा क्यारेक्टरमा थिइन्, जो एउटै थिइन् स्थापित कलाकार ।
०७४ सालमा सुटिङ सुरु भयो । उनले बच्चासँग काम गर्दाको नयाँ अनुुभव बटुुले । उनीहरूको मनोविज्ञान बुुझे । एउटा घटना उनी अहिले पनि सम्झिरहन्छन् । भाइ पात्र वसन्त दिनभरि खोलामा पौडी खेलेर राति डराउँदै घर आउँथ्यो । त्यो पात्र निर्वाह गरेका बालक दिनेश ठमठम आए । सुजितले भने, ‘अलि डराउँदै आइजो न, बिरालोको चालमा ।’
दिनेशले सिधा बुझेछन्, उनी चार खुट्टा टेकेर आए । त्यसपछि त सेटमा हाँसो फैलियो । सुजितले हेरिरहेका थिए, दिनेशको निन्याउरो अनुुहार । उनी खिन्न अनुुहार लिएर बसिरहेका थिए । त्यतिबेला सुजितलाई लाग्यो, ‘मैले बालबालिकासँग काम गरेको भन्ने कुरै बिर्सेछु । ठूूलो कलाकारले जसरी ट्रिट गरिरहेछुु ।’
त्यसपछि उनले तत्कालै मायालुु लवजमा भने, ‘बिरालो जसरी हिँड भनेको हैन । आवाज नसुनिने गरी डराइ डराइ हिँड पो भन्न खोजेको त ।’
अर्को प्रसंग पनि सुजित सम्झिरहन्छन् । एउटा दृश्यमा दिनेश रुनुपर्ने हुुन्छ । तर उनलाई रुनै आउन्न । रुवाउने प्रयत्न गर्दै सुजितले दिनेशलाई गाली गरे । जबर्जस्ती रुवाएर सुट त गरे । तर, दिनेशको आँखामा आँसु थिएन । ‘गाली गरेकाले मलाई नमीठो लागेको थियो । हिँड्ने बेलामा अँगालो मारेर सरी बाबु गाली गरेँ भनेर माया गरेँ, ग्वाँग्वाँ रोयो । मलाई बल्ल थाहा भयो, उसलाई रुवाउने आइडिया त अर्कै पो रै'छ,’ सुजित सुनाउँछन् ।
सुटिङको बेला तनाविलो स्थिति आइलाग्यो । सुटिङ सोचेभन्दा बढी समय लम्बियो । ३५ दिनको लक्ष्य लिएर हिँडेको टोली सुटिङ लम्बिएपछि द्विविधामा पर्यो । ‘समय यस्तो आयो कि अब सुटिङ नै रोक्नुुपर्ने भयो । प्रोजेक्ट नै क्र्यास हुने भयो, ’ सुजित सुनाउँछन्, ‘तर रोकेर जाँदा एउटा सपना ध्वस्त हुनेवाला थियो ।’
सबै जना नयाँ भएकाले व्यवस्थापन कमजोर भएको थियो ।
सुटिङमा जानुअघि व्यक्तिगत ऋण २५ हजार थियो सुजितको । सुटिङमा जाँदासम्म उनको ऋण २५ लाख पुगिसकेको थियो । कामको दौरान उनी निकै छटपटाउन थाले । खाना खाइरहँदा चिटचिट पसिना आइदिएर घाँटीबाट खाना नै जाँदैनथ्यो । नियन्त्रण गरेर फेरि खान खोज्थे, त्यस्तै हुन्थ्यो । एक दिन त सुजित खानै छाडेर छतमा उक्लिए । प्रोड्युसरलाई फोन गरेर भने, 'दाइ, मलाई त निकै तनाव भयो । छतबाट हाम फालौँ ?’
उताबाट प्रोड्युसर प्रवीण स्याङ्बोले सम्झाउँदै भन्न थाले, ‘कुल डाउन बिडारी कुल डाउन ।’
सुटिङ सकिएपछि पैसा अभावकै कारण थप काम सुरु हुन सकेन । सुजित तनावको पहाड बोकेर हेटौँडातिर लागे । ऋणले थिचिएका थिए उनी । पोस्ट प्रोडक्सनको काम सुरु गर्ने कुुनै आधार थिएन । उनी ७ महिना भौँतारिँदै घरमा बसे । घरमा बस्दा पनि उनको तनाव अनुहारमा झल्कन्थ्यो । दिदी र आमाहरू यो कुराले चिन्तित थिए । त्यतिबेला उनले घर बसेर सोचे, ‘सिनेमामा फ्युचर छैन ।’
त्यही टुङ्गोमा पुुगेर उनले सदाका लागि काठमाडौं छाड्ने निर्णय गरे । ७ महिनाअघिदेखिको डेराभाडा तिर्नुपर्ने थियो । भाडा तिरेर सामान ल्याउने सोचमा उनी काठमाडौँ गए । त्यही क्रममा एउटा साथीसँग चियाभेट गरे । चियाभेटमा साथीले भने, ‘एभरेस्टमा टिचर खोजिरहेको छ । पढाउने हो ?’
एक्कासि आएको नयाँ प्रस्तावले उनलाई सोचमग्न बनायो । ‘पैसा कति देला, ब्याज तिर्न मात्र पुुगे पनि हुन्थ्यो,’ सोच्न थाले । तर, उनले सोचेको भन्दा धेरै पैसा आउने रहेछ । उनी राजी भए । अनि गाउँ फर्कने सोचलाई थाती राख्दै कलेजमा पढाउन थाले । पढाउँदै जाँदा विद्यार्थीहरूले उनको कक्षामा ‘इन्जोय’ गर्न थाले । ‘एकपटक त विद्यार्थीहरू व्यवस्थापनमा गएर मेरो क्लास थप चाहियो भनेर मागसमेत गरेछन्,’ सुजित सम्झन्छन् ।
त्यही क्रममा बिस्तारै पैसा जुट्न थाल्यो । उनले जसोतसो फिल्मको पोस्ट प्रोडक्सनको काम सके । नेपालका टप भिडियो सम्पादकलाई सम्पादन गर्न लगाए । तर, फिल्म तयार भएर आएपछि सुजितलाई चित्तै बुुझेन । ‘अझै काम गर्न सकिन्छ भन्ने लाग्यो । थुप्रैलाई देखाएँ, यहाँभन्दा धेरै सम्भावना छैन भने,’ उनी सम्झन्छन् ।
उनलाई फिल्म ‘लोरी’का निर्देशक अविनाशविक्रम शाहलाई देखाउन मन थियो । उनले पटकपटक अविनाशलाई हेर्न आग्रह गरे । अविनाशले समय दिन सकिरहेका थिएनन् । एक दिन अविनाश आए । अविनाशसँगै भिडियो सम्पादक किरण श्रेष्ठ पनि आए । फिल्म हेरेपछि अविनाशले केही प्रतिक्रिया दिए । तर, उनको प्रतिक्रियाभन्दा पनि किरणको कुराले सुजितलाई आकर्षित गर्यो । किरणले भनेका थिए, ‘दाइ मैले यहाँ अझै सम्भावना देखेको छु । चली हेरौँ ?’
धेरैले सम्भावना नदेखेको भिडियोमा एउटा नयाँ केटाले देखेको छ । सुजितले भने, ‘ल, सकेको गरौँ न त ।’
किरणले पैसाको कुरै गरेनन् । उनले अपनत्व लिएर काम गर्न थाले । सुजितले ऋण थपेर माकलबारीमा इडिटिङ रुम बनाए । अनि किरण र सुजित बसेर फिल्मको पुनः सम्पादन थाले । किरणले न रात बितेको थाहा पाउँथे, न घाम झुल्केको । त्यसरी साढे दुई महिना खटिएपछि भिडियोको पहिलो ड्राफ्ट निस्कियो । सुजितले सुरुमा देखाएका साथीलाई त्यो ड्राफ्ट फेरि देखाए । ‘उनीहरू दङ्ग परे । फिल्म त अर्कै स्तरको बनेको भन्दै प्रशंसा गरे,’ सुजित सुनाउँछन् ।
त्यसपछि ज-जसलाई फिल्म देखाए पनि सुजितले अनपेक्षित प्रशंसा पाए । सुजित किरणप्रति अनुुगृहीत हुँदै भन्छन्, ‘धन्यवाद किरणलाई । यो फिल्म मैले हैन, उसैले बनाएको हो ।’
अन्तर्राष्ट्रिय अवार्डदेखि हलसम्म
एक दिन सुजितको इमेलमा दक्षिण कोरियाको बुसान फिल्म फेस्टिबलबाट एउटा सन्देश आयो, ‘तपाईंको फिल्म न्यू करेन्ट सेक्सनमा छनोट भएको छ ।’ उनलाई थाहा थिएन, बुसानको न्यु करेन्ट सेक्सन के हो ? प्रोड्युसरले पठाएका रहेछन् । जब मिडियाहरूमा प्राथमिकताका साथ समाचार आउन थाल्यो, उनी चकित परे । ‘विश्वका उत्कृष्ट फिल्महरू छनोट हुने ठाउँ रहेछ त्यो । त्यसमाथि नेपालबाट छनोट हुने पहिलो फिल्म रै'छ । अनि त म पनि खुसी भएँ,’ सुजित सुनाउँछन् । सुटिङदेखि एडिटिङसम्मको फ्रस्ट्रेसनलाई त्यो समाचारले मारिदियो ।
उनी बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट निर्देशकको अवार्ड विजेता पनि बने । उत्कृष्ट निर्देशकको अवार्ड जित्छु भन्ने त आशासमेत थिएन सुजितलाई । उनकै सेक्सनमा ‘पेबल्स’ फिल्म छनोट भएको थियो । ‘जब मैले त्यो फिल्म हेरेँ, यति उत्कृष्ट फिल्म आफ्नो सेक्सनमा भएपछि आशा कसरी हुनु ? तर, संयोगवश बेस्ट फिल्म पेबल्सले जित्यो, मैले उत्कृष्ट निर्देशकको अवार्ड,’ उनी खुसीभावमा भन्छन् ।
अन्तर्राष्ट्रिय प्लेटफर्ममा अवार्ड जितेको फिल्म अब नेपालका हलहरूमा रिलिज हुँदैछ । उनी विश्वस्त छन्, ‘फिल्मले दर्शकहरू तान्छ नै ।’
पाँच वर्षपछि उनको प्रयासले मूर्त रूप लिँदैछ । फिल्महरू सङ्कटबाट गुज्रिरहेको समयमा सुजित भने निर्धक्क छन्, ‘फिल्मलाई वर्ड अफ माउथले नै सपोर्ट गर्छ ।’
ठेकापट्टा छाडेर फिल्मको अप्ठ्यारो यात्रा तय गरेका सुजित निर्देशकका रूपमा उभिँदैछन् । उनको फिल्मप्रति समीक्षक र सचेत दर्शकहरूको छुट्टै आशा जोडिएको पनि छ । दुई दिदी र आमा पनि उनको फिल्म रिलिजको प्रतीक्षामा छन् । भिनाजुले दिदीभाइमाथिको कथा सुनेर फिल्ममा लगानी गरेका थिए ।
ठूली दिदी भने निराशा पोखिरहन्थिन्, ‘तैँले राम्रो फिल्म बनाउँछस् । तर, यस्तो फिल्म चल्ला त ?’ तर अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगेपछि भने उनले आजकल भन्न थालेकी छन्, ‘अब तेरो फिल्मले पैसा नकमाए पनि मलाई चित्त बुझिसक्यो ।’-शिलापत्रबाट