हेटौंडा \ बागमती प्रदेशमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गर्न लागिएको हो । अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।
विहीबार डब्लुएचओको सहकार्यमा प्रदेश स्तरीय सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य निर्देशनालयले अभियान अवधिमा प्रदेश भित्र रहेका खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाउने अभियान रहेको निर्देशनालयका खोप फोकल पर्सन उद्धवराज प्याकुरेलले बताए ।
लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाएर दादुरा र रुवेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको निर्देशक दीपक प्रसाद तिवारीले बताए । निर्देशक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका डा. नवीन दर्नाल, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, डब्लुएचओका डा. सुस्मिता बास्तोला, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
सन् २०२६ सम्म दादुरा रुवेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता रहेकोमा नियमित दादुरा रुवेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको जनाइएको छ । सरकारले २०७६/७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट दादुरा रुवेला खोपको कभरेज ८४ प्रतिशत मात्र देखिएको थियो । नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुवेला रोग देखिएको थियो ।
बागमती प्रदेशमा नुवाकोट बाहेक सबै जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा रुवेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनिया हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने निर्देशक तिवारीले बताए ।
१३ गते चितवनको ईच्छामनकामना गाउँपालिकाको कुरिनटार स्थित सर्वशान्ति माध्यामिक विद्यालयबाट स्वास्थ्य मन्त्रीले औपचारिक रुपमा अभियानको उट्घाटन गरिने जनाएको छ । प्रदेशका ८ जिल्लामा ९ महिना देखी ५ वर्ष सम्मका र ५ जिल्लाका ९ महिना देखी १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने खोप फोकल पर्सन प्याकुरेलले बताए ।