हेटौँडा \ बागमती प्रदेशभित्रमा १६ गते बुधबार देखि पिपीआर खोप अभियान सुरु गरिने भएको छ । सोमबार हेटौंडामा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा १६ गते देखि पिपीआर खोप लगाउने अभियान गरिने जनाइएको हो ।
मन्त्रालयका सह सचिव डा. सम्झना कुमारी काफ्लेको अध्यक्षतामा भएका छलफल कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठ, प्रदेश भित्रका पशु सेवा कार्यालयका प्रमुख, प्रचिनिधिमूलक स्थानीय तहका पशु शाखा प्रमुख, वडाका पशु प्राविधिकलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पशुपंक्षी सम्बन्धी ऐन नियम, निर्देशिका, कार्यविधि आदिको कार्यान्वयन र तर्जुमा, आव ८०/०८१को पशु स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु, पशु स्वास्थ्य सुचना प्रणाली, भोगिएका समस्या र भावी योजनाबारे तीन तहकै पशु स्वास्थ्यकर्मीहरुले बृहत छलफल गरेका थिए ।
पशुपालक किसानहरुले सहज रुपमा खोप अभियानमा साथ दिइरहेको पशु प्राविधिकहरुले जनाएका छन् । विगतमा केही किसानहरु खोपप्रति डरभाव देखाउने गरेका किसान अहिले अभियानमा उत्साहका साथ सहभागिता जनाउने गरेको पाइएको प्राविधिकहरुले बताएका थिए ।
कार्यविधि आवश्यक छ, स्थानीय तहमा कार्यविधि नहुँदा सेवा प्रदान गर्न असहज भइरहेको उनीहरु बताउँछन् । पिपीआर मात्र नभई, खोरेत, रेविज, लम्की स्कीन, वर्डफ्लु, स्वाईनफ्लु लगायत अन्य खोप कार्यक्रम प्रभावकारि रुपमा सञ्चालन भइरहेको सहभागिहरुले जनाएका थिए । प्रदेशका सिन्धुली, रामेछाप र दोलखामा भने नाईट्रोजनको समस्या रहेको जिल्लाका कार्यालय प्रमुखहरुले गुनासो व्यक्त गरेका थिए ।
खोप अभियानलाई सार्थकता बनाउन र सहज ढङ्गले अभियानलाई सफल बनाउन सम्बन्धित पशु सेवा कार्यालयलाई प्रदेश मन्त्रालयका सचिव कोइरालाले निर्देशन समेत दिएका छन् ।