हेटौंडा \ प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले आम नागरिकको अपेक्षा प्रति अदालत संवेदनशील रहेको बताएका छन् । अदालतले नागरिकहरुको न्याय प्रतिको विश्वास र आस्था वृद्धि गर्नेतर्फ भुमिका खेलिरहेको उनले बताए ।
सोमबार मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायधीश श्रेष्ठले स्वच्छ, निष्पक्ष र गुणस्तरिय न्याय सम्पादनमा न्यायलयले भुमिका निर्वाह गर्नुपर्ने बताए । संविधान र नागरिकहरुको अपेक्षाकृत लक्ष्य पुरा गर्नु न्यायलयको कर्तव्य रहेको उनको भनाई रहेको छ ।
‘सहज वातावरणमा सेवा लिन पाउने सेवाग्राहीको स्वभाविक अपेक्षा र अधिकारको विषय पनि हो ।’ उनले भने, ‘भौतिक सुविधासँगै अदालतबाट प्रवाह हुने सेवाको गुणस्तर समेत अभिवृद्धि हुनुपर्दछ । न्याय सम्पादन र सेवा प्रवाहले आमनागरिकको न्यायपालिका प्रतिको आस्था र विश्वास अभिवृद्धिमा समेत योगदान पुग्नेछ । संविधानले न्यायपालिकालाई नागरिकका हक अधिकारको संरक्षण र प्रत्याभूति तथा संघीयतामा आधारित लोकतान्त्रिक शासन व्यवस्था एवम् विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने गहन दायित्व सुम्पेको छ ।’
२३ करोड लागतमा अदालतको ५ तले भवन
हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा अदालतका लागि सुविधासम्पन्न ५ तले भवन निर्माण गरिएको छ । भुमिगत पार्किङसहित अपांगमैत्री सो भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि २ वटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित सो भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, आधुनिक चमेना गृह निर्माण गरिएको छ । भवनमा पुस्ताकलय, कानुन व्यवसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, बाल पोषण कक्ष लगाएको सुविधा रहेको छ ।
२७ करोड ८९ लाख १४ हजार १६७ रुपैयाँमा बोलपत्र आह्वान गरिएको सो भवनलाइ कविन्द्र नवसिर्जनशील स्लेट जेभिले २०७७ माघ २१ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । २०८० साउन १९ मा सम्पन्न भएका सो भवन निर्माणका लागि २०८० साउन २० गतेसम्म निर्माणको म्याद दिइएको थियो । सो भवनको १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा मुल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माणको लागत बढेको थियो । भवनको लागत बढेर सो निर्माण सम्पन्न हुँदा सम्म सो भवनको कुल लागत २३ करोड ७७ लाख ४ हजार २४८ रुपैयाँ पुगेको थियो ।
भवनको तल्लो तलामा ११ कोठा रहेका छन् । जसमा स्रेस्तेदार कक्ष, तहसिलदार कक्ष, मुद्धा दर्ता शाखा, प्रशासन, अभिलेख, तहशिल, थुनुवा तथा दर्ता चलानी शाखा रहेका छन् । पहिलो तलामा इजलाश २, चेम्बर २, मुद्धा शाखा २, सेपरिवेक्षण कक्ष, इजलाश अधिकृत कक्ष, पुस्तकालय, सरकारी वकिल प्रतिक्षा कक्ष, कानुन व्यवसायी प्रतिक्षा कक्ष, वैतनिक अधिवक्ताको कक्ष समित १५ कोठा रहेका छन् । दोस्रो तलामा इजलाश २, चेम्बर २, मुद्धा शाखा २, इजलाश अधिकृत कक्ष, साक्षी संरक्षण कक्ष, बाल पोषण कक्ष, मेलमिलाप कक्ष, बैठक कक्ष गरी १६ वटा कोठा रहेका छन् ।
त्यस्तै तेस्रो तलामा १४ कोठामा स्टोर शाखा, लेखा शाखा, म्याद तामेली शाखा रहेका छन् भने चौथो तलामा सभाहल, सूचना प्रविधि कक्ष, अन्य कोठाहरु रहेका छन् ।
उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायधीश नृपध्वज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश डा. कुमार चुडाल, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर सेढाई लगायतका न्याय क्षेत्रमा विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।