हेटाैंडा \ मकवानपुरकाे १० वटा स्थानीय तहमध्ये मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिका स्थानीय तह वित्तीय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समितिको सहयोगमा मुल्याङ्कन गरिने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् ।
विशेषगरी यस मूल्याङ्कनमा योजना, बजेट तथा कार्यक्रमको व्यवस्थापन, कार्यान्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई जिससले मूल्यांकन गरी प्रतिवेदन तयार पार्दछ ।
जिल्ला समन्वय समिति मकवानपुरले गत आ.व २०७९/८० को प्रतिवेदनमा मनहरीलाई योजना, बजेट तथा कार्यक्रमको व्यवस्थापनमा ७१ दशमलव ४३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८१ दशमलव ०३ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६२ दशमलव ५ प्रतिशत र राजस्व व्यवस्थापनमा ६४ दशमलव ७१ प्रतिशत दिएको छ ।
जिससले प्रदान गरेको सम्पुर्ण विषयको औसत ७३ दशमलव ५ प्रतिशत प्राप्त गरी मनहरी गाउँपालिका मकवानपुरमै प्रथम भएको हो । यस्तै बराबर ७३ दशमलव ५ न अंक प्राप्त गर्नेमा थाहा नगरपालिका पनि रहेको छ । जिससले थाहा नगरलाई योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९ दशमलव ०५ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९ दशमलव ३१ प्रतिशत , लेखाङ्कन तथा प्रतिवेदनमा ७० दशमलव ५९ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ६८ दशमलव ७५ प्रतिशत र राजस्व व्यवस्थापनमा ७६ दशमलव ४७ प्रतिशत प्रदान गरेको छ ।