हेटौँडा \ राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आएको बताएका छन् । मुख्यमन्त्रीका कारण नागरिकहरुमा वर्तमान व्यवस्थाप्रति वितृष्ण बढिरहेको उनले बताए । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले सरकारले संसद्लाई उपेक्षा गरिरहेको र संसदमाथि सरकार हाबी भएको टिप्पणी गरे ।
नागरिकहरुको नैरास्यता बढ्दो क्रममा रहेको उनले बताए । सरकार र सरकारमा रहेका मन्त्रीहरुले काम गर्न सकेको अवस्था नहरहेको उनको भनाई छ । उनले देश आर्थिक रुपमा तहशनहस हुने अवस्थामा पुगेको बताए । सरकारले किसानहरुलाई पलायन हुने अवस्थामा पुर्याउन खोजेको उनले बताए । सरकारले पंखा घुमाएजस्तै प्रतिपक्षलाई घुमाएको उनले बताए ।
‘आर्थिक संकटको असर लघुवित्तबाट सुरु भए । बिस्तारै बैंकहरुमा प्रवेश गरेको छ । भ्रष्टाचारको जालोले जरो गाडेर बसको छ । सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । सरकारले बजेट विनियोजनमा विभेद गरेको छ । संसदबाट बजेट विनियोजनमा विभेद भयो भन्न नपाउने । सरकारले संविधान कार्यान्वयनमा संसदीय समिति बनाएर अघि बढ्नु पर्ने हो,’ उनले भने ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पूरक बजेट ल्याउन सरकारसँग माग गरेका छन् । मंगलबार बसको प्रदेशसभाको बैठकमा बोल्दै नेता थपलियाले पूरक बजेट ल्याएर प्रतिपक्षको माग सम्बोधन गर्न आग्रह गरे । राजनीतिक नेतृत्वले कमी कमजोरी सुधार गरेर अघि बढ्नु पर्ने उनले बताए । हाल प्रदेश सरकारको विकास बजेट खर्च १६ प्रतिशत रहेको र जेठसम्ममा ५० प्रतिशत पुग्न सक्ने देखिएको उनको भनाई छ । सो अवस्थाबाट माथि उठ्न प्रतिपक्षलाई बजेट दिएर अघि बढ्नु पर्ने उनले बताए ।
त्यसैगरी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा निकै गम्भीर प्रकारका चुनौती देखिएको बताएका छन् । उनले संघीयता र प्रदेश सरकारहरु असफल बनाउने शक्तिहरु लागि रहेका बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारलाई अंकुश ल्याउनका लागि संवैधानिक आयोगहरुलाई उक्साउन खोजिएको बताए । सार्वभौम संसद्ले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा संवैधानिक अंगहरुले अंकुश लगाउने काम भएकाले त्यसतर्फ ध्यान जानुपर्ने उनले बताए ।
नेमकिपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सुझाव दिएका छन् । प्रदेशसभा बैठकमा बोल्दै नेता गोसाईंले प्रदेश सरकारले बेकामे र अनैतिक भएर पदमा बसिरहनुभन्दा राजीनामा दिएर स्वास्थ्यलाभ गर्न घर बस्नु उपयुक्त हुने बताए ।
‘राजनीतिमा दिएको वचन पूरा गर्न सकिएन, जनताको पक्षमा कामनै गर्न सकिएन, बारम्बार हात उठाउनुपर्ने स्थिति आयो र आफू मातहतका कर्मचारीलाई समेत तह लगाउन सकिएन भने एउटा सरल उपाय बाँकी रहन्छ । त्यो हो– राजीनामा,’ उनले भने ।