हेटौँडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका प्रहरीका भौतिक संरचनामा प्रदेश सरकारको लगानी रहेको बताउनुभएको छ । बुधबार हेटौँडा ११ स्थित थानाभर्याङमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै आफु आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा देखिनै प्रहरीको भौतिक संरचना बलियो बनाउँदै लैजानुपर्ने भन्दै लगानी गर्दै आइरहेको बताउनुभयो ।
प्रदेश भित्र विभिन्न जिल्लाहरुमा चौकी होस् या इलाका कार्यालय होस् हामीले आवश्यकता अनुसार भौतिक संरचना निर्माण गर्दै आइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकार मातहतमा प्रहरी नआएता पनि प्रहरीको सम्रग विकासका लागि सुविधा सम्पन्न र प्रविधिमैत्री भवनहरु निर्माण गर्दै आइरहेको उहाँको भनाई रहेको थियो ।
अव्यवस्थित अवस्थामा प्रहरी साथीहरु बसेर सेवा प्रदान गरिरहेको देखेर भौतिक संरचना बलियो हुनुपर्ने लागेर आफुले त्यसतर्फ ध्यान दिएर भवन निर्माणका कार्यहरु गरिएको बताउनुभयो । उहाँले अब विपद् व्यवस्थापन भवनबाट हुने सम्पूर्ण सेवाहरु तीव्रगतिमा गर्न आग्रह गर्नुका साथै आमनागरिकमा शान्ति सुरक्षाको महशुस गराउन अनुरोध गर्नुभएको छ ।
त्यस्तै, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले अपराध नियन्त्रणमा न्यूनिकरणमा र शान्ति स्थापनामा प्रहरीको उल्लेख्य भूमिका रहेको बताउँदै प्रहरीहरु खोज अनुसन्धानमा, विपद् व्यवस्थापनमा समेत सक्रिय रहेको बताउनुभयो । प्रहरीलाई प्रविधिमैत्री बनाउँदै अघि बढिरहेको अवस्थामा सुरक्षाको हिसाबले बढी संवेदनशील भई प्रहरी परिचालन गरिएको उहाँको भनाइ रहेको थियो । प्रविधिको भरपुर प्रयोग गरि नागरिकलाई छिटोछरितो सुचना प्रवाह र सेवा दिन प्रदेश सरकार अग्रसर रहेको बताउनुभयो ।
प्रदेश विपद् व्यवस्थापन गुल्म आरवि, साहारा, अमित जेभी हेटौंडाले तीन करोड २८ लाख १२ हजार ५८ रुपैयाँमा सम्झौता गरी निर्माण गरिएको हो । ६ कठ्ठा ८ धुर क्षेत्रफलमा निर्माण गरिएको गुल्ममा कार्यालय भवन र व्यारेक भवन छुट्टाछुट्टै निर्माण गरिएको छ । भवन आठ सय ५५. ०८ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । कार्यालय भवन एक तल्लाको छ भने व्यारेक भवन दोस्रो तल्लाको निर्माण गरिएको टिएसटी प्रमुख प्रहरी उपरिक्षक इन्जिनियर ईश्वर थापाले बताउनुभयो ।
प्रदेश सरकारबाट हाल सम्म ५७ वटा प्रहरी ईकाई भवनहरुको निर्माण गरी समुद्घाटन भईसकेको ईन्जिनियर थापाले बताउनुभयो । आव ०७९/८० मा विनियोजित रकमबाट तेस्रो चरण अन्तरगत पाँच वटा प्रहरी ईकाइको निर्माण कार्य धमाधम भइरहेको उहाँले बताउनुभयो ।